Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

लोकसेवा आयोगले बुधबार नौ हजार कर्मचारीका लागि विज्ञापन गर्दै


काठमाडौं १४ जेठ । लोकसेवा आयोगले बुधबार झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न लागेको जानकारी दिए । सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो । सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । आयोगले ७५३ स्थानीय तहअनुसार विज्ञापन गर्ने छ । प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको उनले बताए । ‘कुन स्थानीय तहलाई कुन पद कर्मचारी आवश्यक हुन्छ । सोहीअनुसार स्थानीय तहगत रुपमा विज्ञापन गरिने छ’, उनले भने । आयोगले चारदेखि ६ तहसम्म खुला प्रतिस्पर्धा र नौ तहसम्म बढुवाका लागि विज्ञापन गर्न थालेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट सङ्कलन गरेपछि आयोगले विज्ञापन गर्न थालेको हो । उनका अनुसार तीनदेखि ६ महिनासम्ममा कर्मचारीलाई छनोट गरेर स्थानीय तहमा पठाइने छ । ‘हामीले विज्ञापनबाट कर्मचारीको छनोट गरिसकेपछि स्थानीय तहलाई नै नियुक्तिका लागि सिफारिस गर्दछौं’, उनले भने, ‘हामीले सिफारिस गरेका कर्मचारीलाई सिधै सम्बन्धित स्थानीय तहले नियुक्तिपत्र दिने छन् । सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । दरबन्दीअनुसार गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये निजामती कर्मचारीबाट ३१ हजार ७१०, साविक स्थानीय तहबाट १० हजार ५४०, तत्कालीन जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ कर्मचारी समायोजन गरिएका छन् । यस्तै स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को व्यवस्थाबमोजिम कार्यरत रहेका करीब सात हजार ६५० कर्मचारीसमेत समायोजन भएका हुन् । आयोगले नौ हजार कर्मचारीको पदपूर्ति गरे पनि अझै सात हजार कर्मचारी स्थानीय तहमा अपुग हुने देखिएका छन् । यसैगरी सङ्घमा दरबन्दी ४८ हजार ४०९ मध्ये ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन गरेको हो । अझै सङ्घमा आठ हजार ४४९ र प्रदेशमा आठ हजार ४७६ कर्मचारी अपुग छन् ।


क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर
ट्याग : #loksewa

तपाईको कमेन्ट लेख्नुहोस्