Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

थपिएको लकडाउन अझै कडा बनाइने


काठमाडौं २५ चैत । काठमाडौं २५ चैत । सरकारले थपिएको ‘लकडाउन’ अझै कडा बनाउने भएको छ । बिभिन्न स्थानमा सर्वसाधारणको अटेरी देखिएपछि बैशाख ३ गतेसम्म थपिएको लकडाउन अझै कडा बनाइने भएको हो । कोरोना कोभिड १९ भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले गरेको एक साता लकडाउन थप्ने निर्णय मन्त्रिपरिषद्ले पारित गरेसँगै लक डाउनको समयसिमा बैशाख ३ गते पुर्याइएको थियो । सरकारले यसअघी पहिलो चरणमा केरोना संक्रमण रोकथामका लागि भन्दै चैत ११ गतेदेखि एक साताका लागि घोषणा गरेको लक डाउन चैत १८ गते पुनः थप गरेर मङ्गलबार अर्थात २५ गतेसम्म सम्म पुर्याएको थियो । सोमबारको मन्त्रीपरिषद बैठकले लक डाउनको अवधि थपेर वैशाख ३ गतेसम्म पुर्याएको हो । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा कोरोनाको सङ्क्रमणको दर बढेका कारण लक लकडाउन बढाइएको बताइएको छ । हुन त, यसअघि नै सुदुरपश्चिम प्रदेशको कैलालीमा संक्रमित व्यक्तिवाट स्थानीय स्तरमा कोरोना सरेको भेटिएपछि र भारतबाट स्वदेश फर्किएका कैलाली र कञ्चनपुरकै थप दुई संक्रमितको पहिचान भएपछि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई समेत नियन्त्रण गर्ने निर्णय भएको थियो । कोरोनाको दोश्रो चरण सुरु भएसँगै समूदायमा सरेर महामारी हुन नदिन सरकारले सुदुरपश्चिम प्रदेशमा कोरानाको र्यापिड टेस्ट गर्ने निर्णयसहित आवश्यक जनशक्ति परिचालन गरिसकेको छ । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को पूर्ण पालना गराउन प्रदेश र स्थानीय तहलाई निर्देशन दिइएको छ । सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय भएसँगै सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको उच्च जोखिम कम गर्न लकडाउनको अवधि थप गर्न सङ्घीय सरकारलाई आग्रह गरेको थियो । हालसम्म नेपालमा नौ जनामा कोभिड– १९ को सङ्क्रमण देखिएको छ भने एक जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् । बाँकी आठ जनामा ७ जना बिदेशबाट आएका व्यक्ति भएपनि संक्रमित भएर नेपाल आएका व्यक्तिबाट एक आफन्तमा सरेको पाइएको छ ।  लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी  गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको जानकारी दिएको छ । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाको बन्दोबस्तीमा सरकार बिशेष ध्यान दिएको छ । सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोकेर आवश्यक साधान तथा स्रोत उपलब्ध गराइएको छ भने विपद्को समयमा सुरक्षा निकायको भूमिका थप महत्वपूर्ण हुने आशा सरकारले गरेको छ । अस्पतालका लागि चिकित्सक एवं अन्य कर्मचारी सहित स्वास्थ्य सामग्री तथा उपकरणको समेत प्रबन्ध भएको बताइदैगर्दा, लकडाउनका कारण मारमा परेकाहरुको पहिचान गरेर राहत वितरण गर्न नसकेको, लक डाउनको उल्लंघन बढ्दा जोखिम बढेको र स्वास्थ्य सुरक्षाका उपकरण अभाव टार्न नसकेको भन्दै सरकारको आलोचना भने हुँदैआएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन’

तपाईको कमेन्ट लेख्नुहोस्