Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

अकालमा ज्यान गुमाउँदै नागरिक, मनसुन सुरु भए यता ८५ जनाको मृत्यु


काठमाडौं । यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ गतेदेखि असार २९ गतेसम्म भएका बाढी, पहिरो र डुवानका घटनामा १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । ५० जना घाइते भएका छन् भने १ सय ३४ घर क्षति भएका छन् । सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । असार २६ गतेको पहिरोले म्याग्दीमा २८ जनाको मृत्यु भयो भने ४ बेपत्ता र १२ जना घाइते भएका छन् । पहिरोका कारण ३७ घर प्रभावित बिस्थापित भएका छन् ।

जेठ ३१ गते पर्वतमा पहिरोमा परी ९ जनाको मृत्यु र १ जना घाइते भए । असार ८ गते पाल्पाको तानसेन नगरपालिमा पहिरोका कारण ४ जनाको मृत्यु भयो भने ३ जना घाइते भए । असार १८ गते गुल्मीमा ४ जनाको मृत्यु, ७ जना घाइते र १ जना बेपत्ता भएका छन् । पहिरोका कारण ५ घरमा क्षति भयो । असार १९ गते बझाङमा गएको पहिरोका कारण ७ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भए । पहिरोका कारण १७ घर प्रभावित भएका छन् । असार २५ गते सिन्धुपाल्चोकमा बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । ५ जना घाइते र ५० घरमा क्षति भएको छ ।

असार २६ गते लमजुङमा ३ जनाको मृत्यु भयो । असार २६ गते नै कास्कीमा ७ जनाको मृत्यु भयो भने १७ जना घाइते भए । रुकुम पश्चिममा असार २६ गते नै पहिरोका कारण २ जनाले ज्यान गुमाए । त्यसै दिन जाजरकोटमा ११ जनाको मृत्यु, ३ जना बेपत्ता र २ जना घाइते भए । असार २६ गते गुल्मीमा पहिरोले १ जनाको मृत्यु भयो । असार २८ गते सर्लाहीमा बाढीका कारण १ जनाको मृत्यु भयो । सोही दिन संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् भने ८ घरमा क्षति भएको छ । असार २९ गते सोमबार तनहुँमा पहिरोका कारण ६ जनाको ज्यान गयो भने ५ जना बेपत्ता भएका छन् । अन्य केही जिल्लामा बाढी र पहिरोका घटना भएपनि मानवीय क्षति भएको छैन् । बाढी र पहिरोका कारण पछिल्लो एक सातामा बढी क्षति भएको छ ।।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #बाढी र पहिरो

तपाईको कमेन्ट लेख्नुहोस्