Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

स्थानीय तहमा ६० मालपोतका जिम्मेवारी सारिँदै, श्रेष्ता स्क्यानिङ पनि अन्तिम चरणमा


काठमाडौं । सरकारले स्थानीय तहलाई थप जिम्मेवारी दिने क्रमलाई तीब्रता दिएको छ । यसैक्रममा मालपोत कार्यलयबाट हुने सवै कामकाज अब स्थानीय निकायबाटै हुने भएको छ । पहिलो चरणमा अनलाईनकै माध्यमबाट काम हुने र सो कार्यसम्पादनको अनुगमन केन्द्रबाटै गरिने व्यवस्था समेत मिलाइको छ । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । हस्तान्तरणपछि जग्गाधनीले किनबेच, नामसारी गर्दा आआफ्नो पायकको स्थानीय तहबाट हुने व्यवस्था मिलाएको छ ।

स्थानीय तहमा सो अधिकार दिएपछि सवै कार्यसम्पादन प्रविधिमा आधारित रहेकाले त्यसको अनुगमन काठमाडौंबाटै गरिने भएको छ । अनलाइन प्रणालीबाट काम गरिने भएकाले जिम्मेवारी हस्तान्तरण अघि सफ्टवेयरमा अपलोड गरिएका तथ्यांक जाँचको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय तहलाई काम जिम्मा लगाउँदा मालपोत कार्यालयहरूले आफूकहाँ रहेका पुराना मोठ श्रेस्ताहरुलाई स्क्यान गरेर अनलाइन सफ्टवेयरमा अपलोड गरिसकेको हुनुपर्छ । त्यसपछि भू–सेवा केन्द्रमार्फत सबै काम अनलाइनबाट गर्न सक्ने भएपछि मालपोत कार्यालयको सबै मोठ श्रेस्ताहरु स्थानीय तहमा हस्तान्तरण गरेपछि मात्र स्थानीय तहबाटै घरजग्गा किनबेचदेखि रोक्का फुकुवासम्मको सबै काम गर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

सरकारले गत वर्ष साउनमै ६२ वटा मालपोत कार्यालयको श्रेस्ता स्क्यानिङको लागि ठेक्का सम्झौता गरेको थियो । कोभिड महामारीका कारण तोकिएको समयमा सबै कार्यालयको काम पूरा हुन नसकेकाले अहिले सम्म सो कार्य पुरा हुन समय लाग्ने भएको विभागले जनाएको छ । काठमाडौं उपत्यकाका टोखा र मनमैजु, चितवन, बर्दियाको राजापुर, सुर्खेतको महेलकुना र धादिङ मालपोत कार्यालयमा स्क्यानिङको काम सकिएको छ । मालपोत कार्यालय कलंकीमा भने यस अघि नै सबै श्रेस्ताहरु स्क्यानिङ गरिसकिएको छ ।

विभागले प्रदेश र जिल्ला स्तरमा स्थानीय तहका कर्मचारीलाई मालपोतका काम सिकाउने गरि ३० जनाभन्दा बढी मालपोत कर्मचारीलाई तालिम दिएर परिचालन गर्ने भएको छ । पाँचथर, इलाम, इलाम, मोरङ,सुनसरी, उदयपुर, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा पनि स्क्यानिङको काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । त्यसैगरि विराटनगर (मोरङ), राजविराज )सप्तरी), जनकपुर (धनुषा), कलैया (बारा), वीरगंज (पर्सा), लगनखेल (ललितपुर), भक्तपुर, डिल्लीबजार (काठमाडौं), पनि स्क्यानिङको काम भइरहेको छ। मकवानपुर, पर्सा, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, स्याङ्जा, कास्की, पर्वत र बागलुङमा पनि श्रेस्ता स्क्यानिङको काम अन्तिम चरणमा रहेको छ ।

अन्य विभिन्न स्थानमा पनि स्क्यानिङको काम भइरहेको छ । अहिले देशभर १२६ वटा मालपोत कार्यालयहरु सञ्चालनमा रहेका छन् । तीमध्ये ६२ वटा कार्यालयको काम अन्तिम चरणमा पुगेको हो । बाँकी कार्यालयहरुको श्रेस्ता स्क्यानिङका लागि यसै वर्ष भित्र ठेक्का आह्वान गर्ने योजना समेत रहेको विभागले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मालपोत कार्यालय, #स्थानीय तह

तपाईको कमेन्ट लेख्नुहोस्