औषधि खरिद प्रकरण: ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा
काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिन थालेपछि स्वास्थ सामग्री खरिदमा जोडिएको ओम्नी समूह कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखिएको हो । सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने देखाएपछि चौतर्फी दबाब परेको थियो । तर, संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिर्दै आएका थिए । स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको सम्झौता गरिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । विभागले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको आफै स्वीकार गरेको थियो ।
पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको थियो । एक लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झौता थियो । तर, १० हजार थान मात्र आयो । एन–९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजार एन–९५ मास्क र र एक लाख जोडा ग्लोब्स मात्र आएको छ । तर, तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको थियो । यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको थियो ।
२ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने मा त्यो सम्भव नदेखिएपछि सरकारले सम्झौता भंग गरेको थियो । ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको विभागले बताउँदै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार, स्वास्थ्य
तपाईको कमेन्ट लेख्नुहोस्