Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

१२ जना कोरोना संक्रमितमा भेटियो म्यूकोर्माइकोसिस,यस्ता छन् बच्ने उपाय


काठमाडौं । कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको कालो ढुसीका संक्रमित नेपालमा पनि बढेका छन् । बेलायतमा देखिएको यो संक्रमण नेपालमा पनि १२ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दश दिनअघि मन्त्रालयले तीन÷चार जनामा कालो ढुसीको संक्रमण देखिएको जानकारी दिएको थियो । तर, अहिले म्यूकोर्माइकोसिसका १२ वटा रिपोर्ट फेला परेको छ । वीरगन्ज, नेपालगञ्ज र काठमाडौं लगायत स्थानका अस्पतालबाट कालो ढुसीको संक्रमण फेला परेका हुन् ।

नेपालमा सुरुमा सीमावर्ती शहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको थियो । भारतको नयाँदिल्लीमा कोरोना संक्रमितहरुमा अत्याधिक मात्रामा ब्ल्याकफंगसको समस्या देखिएपछि यसलाई महामारीको रुपमा नै घोषणा गरिएको छ । नेपालमा पनि यो संक्रमण देखिएपछि फेरि त्रास फैलिएको छ । कोरोना संक्रमित विरामीहरुमा अनुहारमा अत्याधिक दुखाइ, आखामा समस्या तथा अनुहार सुन्निने लगायतका समस्या यसले देखाउछ । नेपालगञ्जमा यो समस्या देखिएपछि उपचार पद्धति र औषधि खोज्दै काठमाडौंसम्म आइपुगेका छन् ।

कोरोना संक्रमणबाट मुक्त भएर घर गएपनि आँखामा अर्को समस्या देखिएको विरामीको गुनासो छ । अस्पताललाई आफनो समस्या सुनाउदा पनि उपचारपद्धति र औषधिमै नेपालगञ्जका चिकित्सक अलमलिए । अत्यन्त पिडादायीक यो रोगको उपचार पनि निकै झन्झटिलो र महंगो भएको विरामीका आफन्तले गुनासो गरेका छन् । दैनिक लाखौ खर्च गरेरपनि औषधि तथा उपचार पाउनै कठिन भएकोले सर्तकता अपनाउन सबैलाई उनीहरुले आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा नर्भिक अस्पतालमा कालो ढुसीका विरामीको उपचार भइरहेको छ ।

त्रिबी शिक्षण अस्पतालमा मात्रै ४ जनाको उपचार भइरहेको छ । शिक्षण अस्पतालमा कोभिड व्यवस्थापनमा खटिनुभएका छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार नेपालगञ्जका १ जना र काठमाडौका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । संक्रमितहरुमा स्टेरोइड र टोसिलिजुमावइन्जेक्सनको अत्याधिक प्रयोग गर्दा रोग प्रतिरोध क्षमता घटाइदिने भएकाले ती औषधिहरुको प्रयोग गरिएका संक्रमितहरुमा यस्तो समस्या बढी देखिएको र आगामी दिनमा सर्तकता नपनाए महामारीको रुप लिन सक्ने चिकित्सकको चिन्ता छ । म्युकोरमाइकोसिस एक प्रकारको दुर्लभ संक्रमण हो जसको बेलैमा निदान र उपचार नभए बिरामीको मृत्यु समेत हुने चिकित्सकहरु बताउछन् ।

अहिलेसम्म १२ जनामा यो संक्रमण देखिदा र बिरामीले सास्ती पाउँदा सरकारले खासै प्राथमिकता दिएको देखिदैन । कोरोना संक्रमितबाहेक अंग प्रत्यारोपण गरिएका, क्यान्सरको उपचार गराइरहेका बिरामी, मिर्गौला सम्बन्धी समस्या भएका दीर्घ बिरामीमा पनि यो संक्रमणको जोखिम हुने बताइएको छ । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास झनै बढेको छ ।

जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् । भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २ सय जनाको मृत्यु भइसकेको छ । नेपालमा भने कोभिड–१९ का संक्रमण वा संक्रमणमुक्त भएका बिरामीमा यसको संक्रमण देखिए पनि यसबाट मृत्यु भएको आधिकारिक पुष्टि सरकारले गरेको छैन । तर, वीरगञ्ज र बाँकेका अस्पतालहरुमा यसको संक्रमण देखिएका बिरामीको मृत्यु भएको चिकित्सकहरु बताउँछन् । सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ ।

जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पु¥याउनु आवश्यक देखिन्छ ।
कालो ढुसीको प्रारम्भिक लक्षण
–अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
–आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
–नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
–नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
–बाक्लो सिंगान आउने
–आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
–दाँत दुख्ने वा हल्लिने
–टाउको भारी हुने
–ज्वरो आउने
–अचेत हुने, बरबराउने हुन्छ
कालो ढुसी संक्रमणबाट बच्ने उपायहरु
–सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजल मास्कको पुनः प्रयोग नगर्ने
–नियमित रुपमा हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
–व्यक्तिगत सरसफाइमा ध्यान दिने
–धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
–नुनिलो पानीले नाक सफा गर्ने
–पोमिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
–मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
–स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने
कालो ढुसीले गराउने संक्रमणको सुरुवाती चरणको पहिचान र उपचार गर्ने विधिबारे चिकित्सकहरुलाई सहयोग पु¥याउने उद्देश्यले सरकारलाई एडभाइजरी जारी गर्न सहयोग गरिएको छ ।

सरकारले सोही एडभाइजरीको आधारमा प्रोटोकल तयार पार्ने र सार्वजनिक गर्ने तयारी पनि गरेको छ । कालो ढुसीको उपचारमा प्रयोग हुने ‘एम्फोटेरिसिन बी’ औषधि नेपालमा अभाव छ । सरकारले तत्काल यसको व्यवस्था गरी उपचार र रोकथाममा समयमै ध्यान पुर्याउन जरुरी छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कालो ढुसी, #म्यूकोर्माइकोसिस

तपाईको कमेन्ट लेख्नुहोस्