Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

मन्त्रिपरिषद विस्तार अघि न्यूनतम साझा कार्यक्रम ल्याइने


काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भइरहेको छ । तर सोमबार शीर्ष नेताहरुबीच गठबन्धन सरकारका न्यूनतम कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेताहरुले बताएका छन् । सोमबार छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए ।

शीर्ष नेताहरुबीच सरकारलाई प्रभावकारी बनाउनेबारे केन्द्रित भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । सत्तारुढ दल निकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कांग्रेस महामन्त्री खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले मस्यौदामाथि छलफल गरिरहेको छ ।

कार्यदलमा कांग्रेसबाट खड्कासहित नेता रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षामान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् । साझा कार्यक्रममा संयुक्त सरकारका प्राथमिकता, सरकारका नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयनलगायतका विषय समेटिएका छन् । साझा कार्यक्रममा विधिको सर्वोच्चता, कानुनी शासन, सहमतिमा संविधान संशोधन, संघीयता कार्यान्वयनलगायतका विषय राखिने छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्रिपरिषद विस्तार, #सत्तारुढ दल

तपाईको कमेन्ट लेख्नुहोस्