Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अफगानिस्तानबाट कतार हुँदै १ सय २७ जना नेपाली काठमाडौं आइपुगे, अरुलाई छिटो उद्धार गर्न आग्रह


काठमाडौं । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले त्यहाँ रहेका विदेशीलाई मुलुक छाड्ने आदेश दिएको छैन । साथै काबूलस्थित राष्ट्रपति भवन कब्जा गर्दासम्म पनि कुनै विदेशी नागरिकको ज्यान जोखिममा परेको छैन । नेपाली तथा अन्य देशका नागरिकहरु स्वदेश फर्कने हतारोमा छन् । काबुलको बाटो भरी देखिने हतियारले सुसज्जित तालिबान बिद्रोहीले कसैलाई देश छाड्न चाहनेलाई रोकेको पनि छैन । अहिले नेपाली सहित हजारौँ विदेशी काबुलस्थित कारजाइअन्तर्राष्ट्रि विमानस्थलमा शरणार्थी बनेका छन् । उनीहरुको सुरक्षा ५ हजार अमेरिकी सेनाले गरि रहेको छ । अफगानिस्तानबाट उद्दार गरेर मंगलबार काठमाडौँ ल्याइएका १ सय १८ जना नेपालीलाई सामाखुसीस्थित राधास्वामीआइसोलेसन सेन्टरमा राखिएको थियो । त्यहाँ उनीहरुको पीसीआर परीक्षण समेत गरिएको थियो । कोरोना संक्रमण देखिएकालाई आइसोलेसनमा राख्ने तयारी पनि थालिएको छ । साथै कोभिड १९ को दुवै मात्रा खोप लगाएकालाई भने घर पठाइएको छ ।

यसअघि साउन २२ देखि ३२ गतेभित्र व्यक्तिगत प्रयासमा १६४ जना नेपाली काबुलबाट काठमाडौं फर्कि सकेका छन् । मंगलबार मध्यान्ह १२ बजे सामुखुशीस्थित राधास्वामी सत्संग आइसोलेसन सेन्टर अगाडि नेपाली सेनाका सवारी साधनको लाम थियो । विमानस्थलबाट ल्याइएका नेपालीलाई स्क्रिनिङका लागि त्यहाँ लगिएको थियो । काबुलमा सुरक्षा गार्डका रुपमा काम गरिरहेका भूतपूर्व सैनिकहरू काबुलबाट कतार हुँदै मंगलबार मात्रै नेपाल आइपुगेका थिए । उनिहरुले अमेरिकीदूतावासले राम्रो व्यवस्थाका साथ नेपाल ल्याएको बताए । अफगानिस्तानबाट कतार हुँदै उनीहरु जजिरा एयरको विमान मार्फत् मंगलवार काठमाडौंको त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्दारको पर्खाइमा छन् । विभिन्न कम्पनी मार्फत अफगानिस्तानमा काम गर्न पुगेका उनीहरुलाई अमेरिकाले उद्धार गरेर कतारको दोहा पु¥याएको थियो । दोहाबाट उनीहरु नेपाल आएका हुन् । काठमाडौं ल्याइएकामध्ये ११८ जना नेपाली र ९ जना भारतीय नागरिक छन् । अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा रहेका ३ सय ८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याइ सकेको जानकारी उनीहरुले दिएका छन् । नेपाल आएका नागरिकहरुले अमेरिकी दुतावासमा काम गर्ने नेपालीहरु सुरक्षित रहे पनि अन्य काममा गएका नेपालीको अवस्था अज्ञात रहेको बताएका छन् । उनीहरुले बाँकी रहेका नेपालीहरुलाई पनि छिटो उद्धार गर्नुपर्ने माग समेत गरेका छन् । एक सातादेखि नै नेपालीको उद्धार गर्न दबाव आएपनि नेपाल सरकारले आइतबार मात्रै नेपालीलाई उद्धार गर्न समिति गठन गरेको थियो ।

समितिलाई दिइएको कार्यभारमाअफगानिस्तानमा रहेका नेपालीहरुको लगत संकलन गर्ने, तत्काल आउन चाहनेहरुको तथ्यांक संकलन गरी फारम भराउने र तत्काल उद्धार गरेरै ल्याउनुपर्ने भए ल्याउने गरी काम गर्न निर्देशन दिइएको छ । सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरेपछि अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांक छ । यीमध्ये ५ हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र ३ हजार ३ सय २३ म्यानपावर मार्फत संस्थागत श्रम स्वीकृतिमा गएका छन् । अर्कोतर्फ अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ । यसरी अफगानिस्तानमा १८ हजार हाराहारि नेपाली रहेको आँकलन गरिदैगर्दा यीमध्ये कति नेपाल फर्किए भन्ने एकिन जानकारी सरकारसँग छैन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #अफगानिस्तान, #तालिबान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं