Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एमालेले चल्न दिएन संसद बैठक, सभामुखलाई एमाले फुटाएको आरोप


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकको चालू अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ । पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही सभामुखले रोकेको भन्दै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै बैठक अवरुद्ध गरेको हो । बुधवार प्रतिनिधि सभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए । लगतै सभामुख अग्नी सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइलाई समय दिएका थिए ।

भट्टराईले एमाले सांसदमाथि गरिएको कारवाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाउनुभयो । यस बिषयमा सभामुखले जवाफ दिनुपर्ने उनले माग गरे । लगतै सभामुखले नियमावली र संबिधानमा रहेका व्यवस्था अनुसार नै गरेको बताएका थिए । सभामुख सापकोटाले आसन ग्रहण गर्न पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले विरोध गरेका थिए । १५ मिनेटका लागि स्थगित गरेर सुरु भएको बैठक पनि एमालले विरोध गरेको थियो । एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराई बोले । उनले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाए । पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै उनले सोधे, ‘तपाईले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो ?’ सभामुख अग्निप्रसाद सापकोटाले पनि आफूले जवाफ दिने बताए ।

आफूले प्रचलित कानुनका आधारमा निर्णय लिएको भन्दै उनले भने, ‘हाल यो विषय सम्मानित विचाराधीन छ । साथै संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउँछु ।’ उनी बोलिसक्दा नसक्दा एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

एमालेले राष्ट्रिय सभाको बैठकपनि अवरुद्ध गर्यो । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा एमाले राष्ट्रियसभा सदस्यहरुले पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही नभएको भन्दै उठेर बिरोध जनाएका थिए । बैठकमा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले सभामुखले वकिल र सभामुखको भूमिका निर्वाह गर्न खोजेको आरोप लगाए । त्यस्तै सभामुख सापकोटाले पदको गरिमा राख्न नसकेको उनले बताए ।

उनले सभामुखले आफ्नो गतिविधि नसच्चाएसम्म बैठक चल्न नसक्ने बताए । एमाले सदस्यहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको बिषयलाई त्यहिबाटै निरुपण गर्नुपर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर एमाले सदस्यहरुले नमानेपछि बैठक ३० मिनेटका लागि स्थगीत गरिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले

तपाईको कमेन्ट लेख्नुहोस्