Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एमाले प्रथम विधान महाधिवेशनः पाँच समूहको सुझावपछि अध्यक्ष ओलीले जवाफ दिएपछि सकिने


काठमाडौं । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । बिहानैदेखि पाँच समूहले सुझाव प्रस्तुत गरिरहेका छन् । प्रदेश नं २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूह नेताले तीन वटै प्रतिवेदनमा आ–आफ्नो समूहकोतर्फबाट सुझाव राख्ने बताइएको छ ।

राजनीतिक प्रतिवेदनमाथि प्राप्त सुझावमा पार्टी अध्यक्ष ओलीले, साङ्गठानिक प्रतिवेदनमा महासचिव पोखरेलले र विधान संशोधनमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् । विधान महाधिवेशनमा हिजो केन्द्रीय निकाय तथा विभाग, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका छन् । अस्ति शुक्रवार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

तीनै प्रतिवेदनमाथि हिजो शनिवार पहिलो चरणमा १० समूहमा विभाजित प्रतिनिधिले छलफल र दोस्रो चरणमा ती प्रतिवेदनमाथि समूहगत रुपमा उठेका सुझाव समूह नेताहरूले प्रस्तुत गरेका हुन् । १० मध्ये हिजो पाँच समूहका नेताहरूले सुझाव प्रस्तुत गरेका छन् । सुदूरपश्चिमबाहेक सबै समूहमा निर्वाचन खर्चिलो भएको विषय उठेको छ । धेरैजसो समूह नेताले पार्टीको विधानमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पदाधिकारीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । समूह नेताले सात उपाध्यक्ष र सात सचिवको व्यवस्था पनि विधानमा समेट्नुपर्ने सुझाव दिएका छन् ।

प्रस्तावित विधानमा पाँच उपाध्यक्ष र छ जना सचिवको प्रस्ताव गरिएको छ । वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था गरिएको छैन । यसैगरी, पार्टीमा लेबी तथा आर्थिक दायित्व बाँकी बक्यौता रहेका व्यक्तिलाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने समेत नेताहरुले बताएका छन् ।

बन्द सत्रको सुरुमै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले आआफ्नो निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । अस्ति शुक्रवारदेखि सुरु महाधिवेशनमा ६ हजार ३४७ जना प्रतिनिधि सहभागी छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #विधान महाधिवेशन

तपाईको कमेन्ट लेख्नुहोस्