Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

ओलीको एक मात्र चाहना अर्ली इलेक्सन, देउवालाई सहमतिमै ल्याउने प्रयास


काठमाडौं । संसदलाई बन्धक बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकलाई निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग एक्लाएक्लै वार्ता गर्न चाहन्छन् । प्रतिनिधि सभा विघटन गरेर अर्ली इलेक्सनमा जानुभन्दा अर्को विकल्प नरहेको मत ओलीको छ । उनको मतसँग मुलुकको सबैभन्दा ठूलो दल एमालेका सारा नेता कार्यकर्ता सहमत छन् ।

राजनीतिक गाँठोमा अल्झिएको मुलुकलाई निकास दिन चुनावभन्दा अर्को उत्तम विकल्प छैन भन्ने कुरामा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस समेत सहमत छ । तर, सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा सहमत हुन सकिरहेका छैनन् । यी तीन दलले सरकारमा मन्त्री पठाउन नसक्दा देश नै गतिहिन बन्न पुगेको छ । बिहिबार प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएर एमालेले फेरि एक पटक आफ्नो राजनीतिक दम्भ देखाएको छ । आफूले कारवाही गरेका १४ सांसदलाई कारवाही वा सभामुखको राजिनाको रटान नछाडेको एमाले सर्वोच्च अदालतको शरणमा पनि पुगेकै छ ।

सर्वोच अदालतबाट आफू अनुकल फैसला आउन नसक्ने देखेर ओलीले अहिले अर्ली इलेक्सनको पासा फाँकेका छन् । निर्वाचन आयोगबाट मान्यता पाइसकेको एकीकृत समाजवादीको अस्तित्व मान्न आफू अहिले पनि तयार नभएको सन्देस ओलीले दिइरहेका छन् । नेपाली राजनीतिमा एकीकृत समाजवादीको पकड आगामी निर्वाचनपछि कमजोर बन्ने आंकलन समेत ओलीको छ । त्यही कारण पनि उनले अर्ली इलेक्सनलाई एजेन्डा बनाइ रहेका छन् ।

उनले फालेको पासाले कांग्रेसभित्र समेत तरंग ल्याएको छ । सही मौका देखेर ओलीले प्रधानमन्त्रीसँग एक्लै भेट्ने चाहना राखेका हुन् । साहेद् एकाध दिनमा उनीहरु बीच भेट पनि हुनेछ । प्रधानमन्त्री देउवाले समेत संसदको अवरोध हटाउन सर्वदलीय बैठक पनि बोलाए । तर, नेकपा एमालेले बैठक नै बहिष्कार गर्यो ।

ओलीले बैठक नै बहिष्कार गरेपछि सहमतिको वातावरण कसरी बन्छ भन्ने प्रश्न पनि उब्जिएको छ । अव भेट भयो भने पक्कै पनि भेटमा ओलीले प्रधानमन्त्रीसँग अली इलेक्सनमा जान नै प्रस्ताव गर्नेछन् । यसअघि नै वैशाखमा अर्ली इलेक्सनमा जाने भित्री योजना बनाइ सकेका प्रधानमन्त्री देउवाका लागि ओलीको प्रस्ताव हाइसन्चोको विषय बन्न पनि सक्छ । तर, सत्ता गठबन्धनभित्रै अर्ली इलेक्सनको तीब्र विरोध हुन सुरु भइसकेको छ ।

जनता समाजवादी संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त अर्ली इलेक्सनको नाममा एमाले र कांग्रेसको अर्को प्रतिगमन गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धनका दलका कारण काम गर्न नसकेका देउवाले कुनै न कुनै दिन सरकारमा रहेका दलसँगको सम्बन्धमा पूर्ण विराम लगाउनु पर्नेछ । यसका लागि ओलीले अर्ली इलेक्सनमा जाने सर्तमा देउवालाई समर्थन गर्ने विश्वास दिलाउने छन् । यद्यपि मंसिरमा नेपाली कांग्रेसको १४ औं महाधिवेसन नभएसम्म उनी यही गठबन्धनलाई साथ लिएर अगाडि बढ्न चाहन्छन् । त्यसअघि ओलीसँगको सहकार्यलाई उनले अगाडि बढाउन सक्ने अवस्था पनि छैन ।

किनकी दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान विरोधि कार्य गरेको आरोप लगाउने कांग्रेसी नेताहरुको संख्या निकै छ । उनीहरुले आगामी महाधिवेसनमा देउवामाथि प्रतिगामीसँग मिलेको आरोपमा आगामी सभापतिमा उनलाई नरुचाउन पनि सक्छन् । आफ्नै गुटका प्रभावशाली नेताहरुले साथ छाडि रहेको अवस्थामा देउवाले ओलीको प्रस्ताव मानि हाल्ने जोखिम मोल्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा देउवा र ओलीबीच कांग्रेस महाधिवेसनपछि अर्ली इलेक्सनको तयारी गर्ने गोप्य सहमति भने नबन्ला भन्न सकिँदैन ।

सभामुखसँग एक्लै भेट्दा ओलीले केही गुनासो गर्ने र उनको राजिनामा माग्ने बाहेक संसद सुचारु गर्ने विषयमा वार्ता हुने छैन । किनकी ओली जसरी भएपनि प्रतिनिधि सभाको यो कार्यकाललाई छोट्याएर निर्वाचन जान चाहन्छन् । त्यो चाहना पूरा गर्न संसदलाई काम विहिन बनाउनु र गठबन्धनमा चिरा पार्नुभन्दा राम्रो विकल्प उनले अर्को देखेका छैनन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्