Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सवारी चालक अनुमति पत्र लिन सधैं झन्झट, आवेदन दुई दिनमै बन्द

अहिले लाइसेन्सकोे फारम भर्दा असारमा पालो


काठमाडौं । सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा बारम्बार समस्या पैदा भइरहेको छ । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्र्तगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय लिन नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाई र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बाहिर गएको देखिन्छ । स्मार्ट प्रविधि अवलम्बन गरेको र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यातायात कार्यालयहरु विस्तार गरेपनि सेवाग्रहीले पाउने सास्तीमा भने अलिकति पनि कमी देखिएको छैन । बरु, अझै पनि यातायात कार्यलयमा सेवाग्राहीहरुले विचौलीयाको भर पर्नुपर्ने अवस्था कायमै छ ।

कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा परेका छन भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि कहिले परिक्षा हुन्छ अन्योलमा छन् । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि कोराना महामारीको कारण देखाउँदै बन्द गरेको लिखित तथा प्रयोगात्मक परीक्षा विचमा केही समय मात्र खुलेको भएपनि दशैँपछि खुलेको दुई दिनमै फेरि बन्द भयो । खुलेको दुई दिनमै यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन प्रणाली बन्द भएपछि धेरै सेवाग्रही समस्यामा परेका छन् ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो । नियमित रुपमा फारम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् । प्राविधिक कारणले प्रणाली बन्द भएको बताएपनि यसमा मनोमानी गरिरहेको छ । लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताएपनि विभागले सोवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्मेन्ट’ मिति तोकेको थियो । त्यसअनुसार अहिले फारम भरेकाहरुले २०७९ को असारसम्मको ‘एपोइन्मेन्ट’ मिति पाइरहेका थिए ।

भक्तपुरको जगाति कार्यालयबाट लाइसेन्स लिन पहिलो दिन बिहान फारम भरेका एक सेवाग्राहीलाई २१ जुन २०२२ को एपोइन्मेन्ट मिति दिइएको छ । एकान्तकुना लगायतका बढी चाप हुने यातायात कार्यालयले दिने मिति अझै पर पुगेको छ । नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भएपनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन । तर, आवेदन प्रणाली नै बन्द भएपछि लाइसेन्सको आवेदन दिने क्रममा रहेका सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नै परिक्षामा सहभागी हुन आवेदन दिएका करिब ५ लाखले चालकले प्रयोगात्मक परिक्षाको मिति कुरिरहेका छन । लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिन सकेका छैनन् । नियमित शैलीमा परीक्षा लिइरहेका छन् भने कतिपय कार्यालय परीक्षा फेरि सुरु गर्ने गृहकार्यमा छन । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइले सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था भएपछि विभागले कम्तिमा एक वर्षको अवधि राखेर परीक्षणकालीन लाइसेन्स जारी गरेको छ ।

यातायात व्यवस्था विभागमा अहिले लाइसेन्स परीक्षा पास गरेर र नवीकरणको प्रक्रिया पूरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेकाको संख्या ५ लाख ९२ हजार छ । तर, बिडम्बना के छ भने गत फागुनदेखि विभागमा नयाँ लाइसेन्सको छपाइ नै बन्द छ । विदेश जान अत्यावश्यक परेर पुग्नेबाहेक अरुको लाइसेन्स छाप्न छोडिएको छ । विभागमा स्मार्ट लाइसेन्स छाप्ने कार्डको मौज्दात नै छैन । खरिद प्रक्रिया अघि बढाउनेबारे छलफल भएपनि कहिले लाईसेन्स छपाईको कार्ड आइपुग्ने टुंगो छैन ।

स्मार्ट लाइसेन्स चिप्सयुक्त पोलिकार्बोनेट कार्डमा छपाइ हुन्छ । तर, सो कार्डको आपूर्तिमा विभागले ढिलाइ र लापरबाही गर्दा लाइसेन्सको परीक्षा नभएको समयमा समेत लाइसेन्स छाप्ने काम हुन सकेन । योजना र पूर्वाधारको सहित व्यवस्थापन हुन नसक्दा यातायात सधै नागरिकलाई अनाहकमा सास्ती दिने कार्यालय बन्दै आएका छन् । सरकारप्रति आम नागरिकको आक्रोश थप बढाउने यातायात कार्यालयमा कहिले सुधार हुने आम सेवाग्राहीले प्रश्न सोधिरहेका छन् ?


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ड्राइभिङ लाइसेन्स, #यातायात व्यवस्था विभाग, #सवारी चालक अनुमतिपत्र

तपाईको कमेन्ट लेख्नुहोस्