नेपाली कांग्रेसमा गुट परिवर्तन गर्नेको लर्को,गुट परिवर्तन गर्नेहरुको नामावली सहित

काठमाडौं । जव नेपाली कांग्रेसको महाधिबेशन सुरु हुन्छ तव नेताहरु आफू सुरक्षित हुने ठाउँ खोज्ने गरेका छन् । एउटा महाधिबेशनमा एउटा नेतासँग नजिक रहेका नेताहरु अर्को महाधिबेशनमा अर्के नेताको साहारा लिएको भेटिन्छ । १३ औं महाधिबेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्यानल नै बनाएर चुनाव लडेका नेताहरु १४ औं महाधिबेशनमा गुट परिवर्तन गरेर अर्कै नेतासँग प्यानलमा उमेद्वारी दिदैछन् । कुन कुन नेताहरु छन् त गुट परिवर्तन गर्ने नेताहरु ।
अर्जुननरसिंह केसी
नेता अर्जुननरसिंह केसी पार्टीको १३ औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्री उमेद्वारीमा पराजित भएका थिए । देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्री बन्न सकेनन् । अहिले केसी पार्टीभित्र रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूहमा पुगेका छन् । अहिले पुरानै गुटमा फर्केका केसी देउवाविरुद्ध संस्थापन इतरका नेतालाई एकजुट बनाउन सक्रिय छन् । केसीले १४औं महाधिवेशनमा पार्टी उपसभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।
नारायण खड्का
गुट परिवर्तन गर्ने नेताहरुको लिष्टमा पर्ने अर्का नेता हुन डाक्टर नारायण खड्का । माओवादीविरुद्ध संकटकाल लगाउने कि नलगाउने भन्ने विवादमा कांग्रेस विभाजन हुँदा खड्काले देउवालाई साथ दिएका थिए । २०६४ सालमा पार्टी एकीकरण भयो । त्यसपछि खड्काले बिस्तारै देउवाको साथ छाडे र पुरानो संस्थापनतिर लागेका हुन ।
संस्थापन पक्षतिर आफूलाई प्रतिबद्ध देखाउँदै खड्का सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारमा सहरी विकास मन्त्री बने । साढे पाँच वर्षअघि भएको पार्टीको १३औं महाधिवेशनमा देउवा इतर समूहबाटै केन्द्रीय सदस्य बनेका थिए उनी । तर १४ औं महाधिवेशनसम्म आइपुग्दा खड्का फेरि देउवाको विश्वासपात्र बनेर परराष्ट्रमन्त्री बनेका छन् ।
चन्द्र भण्डारी
२०७० सालको चुनावमा शुशिल कोइरालाको नजिक भएका नेता चन्द्र भण्डारी कहिले देउवा त कहिले कोइराला गुटमा सामेल भए । सुशीलकै समूहबाट १२औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भण्डारी मन्त्री नपाएपछि उनीविरुद्ध खनिए । अन्तिममा गुट नै परिवर्तन गरेर भण्डारी देउवा समूहमा लागे ।
२०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य निर्वाचित भण्डारी २०७४ सालको आमनिर्वाचनअघि देउवा नेतृत्वमा बनेको सरकारमा मन्त्री हुन चाहन्थे । तर, उनी देउवा नेतृत्वको सरकारमा मात्र होइन, कांग्रेसको समर्थनमा गठन भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि मन्त्री बन्न पाएनन ।
गगनकुमार थापा
पार्टीको तत्कालीन संस्थापन पक्षसँगको निकट सम्बन्ध बनाउँदै राष्ट्रिय राजनीतिमा उदाएका थापा १२ औं महाधिवेशनमा सुशील कोइराला समूहबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पार्टीभित्रका अन्य गुटको पनि साथ र समर्थन पाएकै कारण उनले केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाए । सुशीलले १३ औं महाधिवेशनबाट पनि सभापतिमा दोहोरिने बताउँदै आएका थिए । सुशील सभापतिमा दोहोरिन नहुने पक्षमा थापाका साथै नेता नरहरि आचार्यसहित थिए ।
महाधिवेशनको संघारमा सुशीलको निधन हुँदा तत्कालीन संस्थापन पक्षबाट कार्यवाहक सभापतिसमेत रहेका रामचन्द्र पौडेल स्वाभाविक उम्मेदवार जस्ता देखिए । तर, तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पौडेललाई अस्वीकार गर्दै सभापतिको प्रत्याशी बने । पौडेल समूहबाट कोषाध्यक्षको उम्मेदवार बन्न प्रयासरत थापा अन्तिम समयमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बने । परिणाम उनको पक्षमा आएन, शशांक कोइराला महामन्त्रीमा निर्वाचित भए । अहिले थापा पौडेल समूहबाट महामन्त्रीको उमेद्वारी घोषणा गरेका छन् ।
विश्वप्रकाश शर्मा
२०५९ सालमा कांग्रेस विभाजन हुँदा नेपाल विद्यार्थी संघको अध्यक्ष थिए नेता विश्वप्रकाश शर्मा । पार्टीका प्रमुख भ्रातृ संगठनका अध्यक्षहरूले देउवा नेतृत्वको पार्टीलाई साथ दिँदा शर्मा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसमै बसे । पार्टीको १२औं महाधिवेशनबाट सुशील कोइरालालाई सभापति बनाउनसमेत भूमिका खेलेका शर्मा १३औं महाधिवेशनमा भने देउवातिर खुले ।
कोइराला नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा नेवि संघका पूर्वअध्यक्षहरू केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनीत भए । त्यसपछि देउवासँग नजिकिएका शर्मा अहिले पार्टीको प्रवक्ता छन । १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्मा देउवासँग रहेका छन् ।
कुलबहादुर गुरुङ
१३ औं महाधिवेशनमा देउवाको पक्षमा खुलेका थिए । आमनिर्वाचनपछि गुरुङ उनको विपक्षमा देखिए । उमेरले पनि पाका नेता गुरुङको १४औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ खुलेका छैनन् ।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, आनन्द ढुंगाना, गोविन्द भट्टराईसहितका नेता १३ औं महाधिवेशनपछि गुट फेरेर देउवा समूहमा लागेका हुन् । कांग्रेसको इतिहास जति लामो छ, त्यसभित्र गुटगत राजनीति पनि उति नै लामो छ । अहिले नेताहरु धमाधम उमेद्वारी घोषणा गरिरहेका छन् । देउवा र पौडेल समूहसँग नजिक भएर उमेद्वारी घोषणा गरिरहेका नेताहरु अन्तिम समयसम्म फेरि गुट परिवर्तन नगर्लान भन्न सकिन्न ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गगनकुमार थापा, #नारायण खड्का, #नेपाली कांग्रेस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्