Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कांग्रेस महाधिबेशनः उमेद्वारी फिर्ता ११ बजेसम्म,भोली निर्वाचन


काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको हो । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सभापति पदमा ६, उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ ।

संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार छन् भने संस्थापन इतर समूह विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिको उम्मेदवार बनेका छन् ।

केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५ सय ४८ जना उम्मेदवार छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

१४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको छ । सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने छ । भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाइएको छ । मतदान मतपत्र मार्फत गर्नुपर्नेछ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उम्मेदवारी फिर्ता, #नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

तपाईको कमेन्ट लेख्नुहोस्