Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

संघीय संसदमा कामै नगरी भत्ता बुझ्दै सांसद, हरेक बैठकमा दश लाखसम्म खर्च हुँदा उपलब्धि भने शुन्य

सुविधा लिन सत्तापक्ष र प्रतिपक्षको मिलेमतो


काठमाडौं । जनताको आवाज उठाउनु पर्ने थलोका रुपमा परिचित संसद विगत एक वर्ष विभिन्न बहानामा अवरुद्ध छ । जनताका समस्यामा वाद विवादसँगै ऐन नियम पारित गर्दै राज्यलाई गति दिनु पर्ने संसद यति लामो समयदेखि अवरुद्ध हुँदा समेत राजनीतिक दलहरु भने सत्ता कै खेलमा मस्त छन् । सांसदहरु भत्ता पचाएर दंगदास छन् । गत वर्ष पुुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरे यता संसदले राम्रोसँग काम गर्न पाएको छैन । विभिन्न बहाना संसद अवरुद्ध हुँदै आएको छ ।

संसद भवनको भाडा वापत सरकारले बार्षिक १५ करोड खर्च गर्नु पर्छ । त्यस्तै प्रत्येक बैठकमा सांसदहरुले २ हजारका दरले भत्ता पनि पाउँछन् । यो आधारमा हरेक बैठकको खर्च ९ देखि १० लाख रुपैयाँसम्म हुन्छ । यथार्थमा भन्ने हो भने अहिले संसद अवरुद्ध पनि छैन तर, संचालनमा पनि आउन सकेको छैन । संसद खुल्छ । एमाले सांसदहरुले होहल्ला गर्छन् । केही विधेयक पारित पनि हुन्छन् अनि बैठक स्थगित हुन्छ । योसँगै सांसदहरुको भत्ता पनि पाक्छ नै । यही नैसंसदको नियमित प्रकृया बनेको छ । तर सांसदले भत्ता पचाउँदा समेत संसद जनताको आवाज उठाउने थलो बन्न सकेको छैन ।

केही बाहेक आवश्यक विधेयक पारित भएका छैनन् । गत वर्षको पुस ५ गते यता नयाँ सरकार गठन, बजेट पारित र केही विधेयक पारित गर्नु बाहेक संसदले अरु कुनै काम पाएको छैन । कामै नगरी तलव भत्ता बुझ्न सांसदहरुलाई लाज लाग्नुपर्ने हो । तर, उनीहरु भने यसरी तलब भत्ता बुझ्नुलाई जायज नै मान्छन् । साथै उनीहरु यसको दोष अर्को दललाई दिन मै व्यस्त देखिन्छन् । प्रमुख प्रतिक्षी दल एमालेका सांसदहरु भने संसदलाई बिजनेश दिने काम सरकारको भएको र उसले विजनेश नदिदा संसद प्रभावहिन भएको बताउँछन् ।

संसदीय काम कारवाहीमा सहभागी हुनका लागि संसद भवन जाने सांसदहरुले तलब भत्ता लिनुलाई उनीहरु पनि जायज नै मान्छन् । राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भने काम नगरी तलब भत्ता मात्रै लिने सांसदहरुलाई नैतिकता नभएका प्राणीको उपमा दिन्छन् । नीति निर्माणको केन्द्रीय थलो संघीय संसद यसरी लामो समयसम्म अनिर्णयको बन्दी हुँदा देशले त्यसको ठूलो मूल्य चुकाउनु पर्नेमा सबै एकमत छन् तर संसदको अवरोध हटाउन कतैबाट पनि प्रभावकारी पहल नहुनु भने दुर्भाग्यपूर्ण हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राजनीतिक दल, #संसद भवन

तपाईको कमेन्ट लेख्नुहोस्