चुनावबाट उदायका बालेन र हर्क,जसले जित्दैछन् जनताको मन, कस्ता–कस्ता स्वतन्त्र आए नेतृत्वमा

काठमाडौं । लामो राजनीतिक पृष्ठभूमि र विरासत बोकेका पार्टीहरूका लागि अब स्वतन्त्र उम्मेदवारहरु नै चुनौँती बन्न थालेका छन् । कुनै एरिया विशेषलाई आफ्नो पकेट क्षेत्र दाबी गर्ने दल र उम्मेदवारहरुलाई यो स्थानीय तह निर्वाचनमार्फत मतदाताहरुले गतिलो जवाफ दिएका छन् । दलीय उम्मेदवारमाथी सबैभन्दा ठूलो झड्का लागेको छ, देशकै पुरानो काठमाडौं महानगरपलिकामा ।
यहाँ लामो राजनीतिक पृष्ठभूमि र विरासत बोकेका पार्टीहरूलाई पराजित गर्दै ¥यापर समेत रहेका स्ट्रकचरल इन्जिनियर बालेन्द्र साहले बाजी मारेका छन् । स्वतन्त्र उम्मेदवार साहले ६१ हजार ७६७ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ र एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।
पाँच वर्षका लागि काठमाडौं महानगरको व्यवस्थापकिय जिम्मेबारीमा पुगेका बालेन्द्र साह (बालेन) आखिर को हुन छ ?
पुख्र्यौली घर महोत्तरीको एकडारा गाउँपालिकाका– २ मा रहेपनि बालेन आफू भने काठमाडौंको नरदेवीमा जन्मिएका थिए । आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका कान्छा छोराका रुपमा २०४७ बैशाख १४ गते जन्मिएका साहको परिवार अहिले तीनकुनेको गैरीगाउँमा बस्दैआएको छ । नरदेवीको जलजला माध्यामिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।
२०७२ सालको महाभूकम्पपछि उद्धार र राहतसँगै पुनर्निमाणको कामका सिलसिलामा बालेन देशका ६५ जिल्ला पुगेका छन् । जनस्वास्थ्यकर्मी सबिना काफ्लेसँगको विवाह बन्धनमा बाधिएका साह ¥याप र इञ्जिनियरिङसँगै नेपालको राजनीतिमा रुचि राख्ने युवाका रुपमा दरिएका छन् । विवेकशील र साझा पार्टी फुट्दैगर्दा विवेकशीलपार्टीको सम्पर्कमा पुगेर काठमाडौँको नगरप्रमुखमा उठ्न चाहेका उनी सदस्यतापछि बिचार गर्ने जवाफपछि स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मौदानमा होमिएका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनपछि बालेनले फेशबुकमा लेखेका थिए– “मैले आज भोट गरिनँ । म उम्मेदवार थिइनँ । मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छु । मलाई देश बनाउन आउँछ । म अर्को पटक भोट गर्छु, र आफैँलाई भोट दिन्छु । म मेरो देशको विकास गर्छु । मलाई अरू कसैको भर लाग्दैन“। हो आज उनको पाँच वर्षअघि देखेको यो महानगरको नृत्व गरेर क्षमता प्रदर्शन गर्ने हुटहुटी आज पुरा भएको छ । चुनावका वेला प्रतिवद्धता र बाचाहरुको चाङ लगाउने र निर्वाचित भइसकेपछि चटक्कै भुल्ने दलहरुका प्रवृत्ति र विकास प्रणालीमा रहेको झमेला लगायतबाट बाक्क भएका बालेनलाई आज उसैगरि वाक्कदिक्क भएका मतदाताले अवशर दिएका छन् ।
मेयरमा विजयभएसँगै बालेनले काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ठ शहर बनाउने प्रतिबद्धता गरेका छन् । ‘जताजातै फोहोर आफैंले देखेको छु, दुर्गन्धका कारण खुला रुपमा हिँड्न सकिन्न, त्यसैले बस्न लायक सहर आफैंले बनाउनुपर्छ भन्ने बालेनको मुख्य चुनौती नै यही छ । अहिलेसम्म बालेन स्वयम् कस्ता व्यक्ति हुन् भन्ने स्पष्ट भइसकेको छैन । कर्मचारी प्रशासन चलाउनेदेखि लिएर विभिन्न राजनीतिकसँग समन्वय गर्नेसम्मका विषयले बालेनको भविष्य निर्धारण गर्ने आँकलन गर्न थालिएको छ । बालेन मात्रै होइन यो स्थानीय तह निर्वाचनमा अन्य १२ वटा पालिकाको नेतृत्व स्वतन्त्र व्यक्तिको हातमा पुगेको छ । काठमाडौं महानगरसँगै मतदाताले तीन वटा उपमहानगर धरान, जनकपुरधाम र धनगढीमा स्वतन्त्र उम्मेदवारलाई विजयको माला लगाइदिएका छन् ।
धरानको मेयरमा एक्लो अभियन्ता हर्क साङपाङको उदय
एक्लो अभियन्ताका रुपमा रहेका हर्क साङपाङ राईलाई धरान उपमहानगरको नेतृत्वमा पुर्याएर मतदाताहरुले राजनीतिक दलहरुले आफ्नो ‘गढ’ र बलियो क्षेत्र भन्दै गर्नेगरेको दाबीलाई जवाफ दिएका छन् । २०३९ सालमा खोटाङको खार्तम्छामा जन्मिएका साङपाङ शुक्रबारे माविबाट एसएलसी दिएपछि २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका पूर्व ब्रिटिस लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर शिक्षा पढाए ।
रोजगारीका क्रममा ६ वर्षसम्म इराक र अफगानिस्तानमा बसेका राई गीत लेखन र गायनमा समेत दख्खल राख्छन् । जिद्दी र विद्रोही स्वभावका राई २०७२ सालतिर धनकुटे रोड विस्तारविरुद्धको संघर्षसहितको आन्दोलनको सहसंयोजक बनेपछि चर्चामा आएका थिए । यसपछि उनले भ्रष्टचार र बेथितिविरुद्ध निरन्तर बोल्न थाले । खानेपानीको विषय, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचार, सुकुम्बासी संरक्षण र व्यवस्थान, सडकको खाल्डाखुल्डी र महँगी नियन्त्रणबारे आवाज उठाउँने उनै राई अहिले उपमहानगरको मेयरमा जनमतबाट अनुमोदन भएका छन् । मेयर बनेपछि पनि उनी जनताका ससामान्य समस्या समाधानमा आफै अग्रसर देखिन थालेका छन् ।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपु्रधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसबाट असन्तुष्ट बन्दै स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार साह विजयी भएका छन् । उनले नेकपा एमालेका शिवशंकर साहलाई भारती मतले पराजित गरे । यो समेत राजनीतिकर्मीको झुटको खेती विरुद्धको झापड भएको आँकलन गर्न थालिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाल विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रहेका निवर्तमान उपमहानगर प्रमुख नृप बहादुर वडलाई १२ हजार ४८ बढी मतान्तरले पराजित गरेका हमाल भने अन्य उम्मेदवार भन्दा फरक पात्र हुन । धनगढीको व्यापारिक क्षेत्रमा प्रतिष्ठा कमाएका हमाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका बेलादेखि नै चर्चा थिए । हमाल व्यवसायी मात्रै नभएर समाजसेवीका रुपमा समेत दरियका छन् । धनगढीमा कपडा बैंक र शववाहन सञ्चालन गर्दैआएका हमालले ‘सुन्दर सुदूरपश्चिम’ अभियान अन्तर्गत गरेका केही काम कामबाट प्रशंशा बटुल्दैआएका छन् ।
मधेश प्रदेशको बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद कुमार क्षेत्रीले पाँच वर्षे कार्यकालका लागि मेयर बन्ने मौका पाए । क्षेत्रीले त आफूसहित उपप्रमुखमा तारादेवी महतो र नगरका १४ वडामध्ये ४ वटामा आफू निकटका स्वतन्त्र वडाध्यक्षका उम्मेदवारलाई समेत विजयी गराएका छन । आश्वासनको खेती गरेर काम नगर्ने दलीय प्रबृत्तिको बदलामा मतदाताले स्वतन्त्रलाई रोजेको चर्चा चलिरहेको छ ।
कर्णाली प्रदेशको जुम्ला सदरमुकामा चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार बनेका राजुसिंह कठायतले कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीलाई पराजित गरे । कर्णाली प्रदेशकै कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले एमालेका उम्मेदवारलाई पराजित गर्दै वाजी मारे । प्रदेश नम्वर १को ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली स्वतन्त्रबाट विजयी भए । प्रदेश नम्वर १ कै भोजपुर जिल्लास्थित साल्पासिलिछो गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ विजयी भएका छन् ।
सुदूरपश्चिमको बैतडी जिल्लास्थित डिलासैन गाउँपालिकाको अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवरा सन्तोषप्रकाश जोशी विजयी बनेका छन् । कर्णाली प्रदेशको कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिकामा समेत स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसीले बाजी मारे । हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा प्यारीलाल शाही, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका स्वतन्त्र उम्मेदवार कार्मा छोईबेल गुरुङ मतदाताबाट पाँच बर्षका लागि अनुमोदन भएका छन् । डोल्पाकै शेफोक्सुण्डो गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङ्छेन गुरुङ, गण्डकी प्रदेशकै मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिरिङ गुरुङ विजयी बनेका छन् ।
देशभर तीन सय बढी स्वतन्त्र उम्मेदवारहरु गाउँ तथा नगर सदस्य र करिब ५० जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । कतिपय दलीय राजनीतिमै नलागेका समाजसेवी भएपनि कतिपय उम्मेदवारहरु दलबाट निकट नपाएर स्वतन्त्र बनेकाहरु छन् । बालेन्द्र शाह र हर्क साङपाङको उदयलाई भने फोहोरी राजनीतिमाथीको झापडका रुपमा हेरिएको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नगरप्रमुख, #बालेन्द्र साह, #स्वतन्त्र उम्मेदवार, #हर्क साङपाङ राई
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्