बालेन्द्र साहको महानगरमा सडक ब्यापारीमाथि लछारपछार, नगरप्रहरीको सधैं ज्यादती

काठमाडौं । जव रात पर्दै जान्छ काठमाडौं महानगरपालिकाभित्रका सडक पेटिमा ब्यापारीहरु पनि आउन थाल्छन् । साँझको ब्यापारले उनीहरुले दुई छाक टार्न सडकको ब्यापार गर्नेपर्ने बाध्यता छ । तर, बल्लतल्ल सामानको जोहो गरेर सडकमा ल्याएको सामान कतिबेला महानगरका नगरप्रहरी आएर लैजान्छन् त्यो पत्तो हुदैन । केही पैसा नगरप्रहरीलाई दिए छाडिदिने तर, पैसा नदिने हो भने सामान नै गायव हुने बाध्यता काठमाडौं महानगरमा बर्षौदेखि झेल्दै आएको समस्या हो ।
दिउँसो पनि मकै पोलेर जिविको पार्जन गरिरहेका मकै ब्यापारीलाई समेत नगर प्रहरीले लछारपछार पार्छन । त्यो सम्बेदनशीलता नगरप्रहरीले कहिल्यै नबुझेको ब्यापारीले बताइरहेका छन् । काठमाडौं महानगरको मेयर जितेर आएपछि बालेन्द्र साहले केही सुधार गर्लान । सडकपेटीमा गरिने ब्यापारलाई ब्यवस्थित बनाउलान भन्ने आसा रहेको तर, अहिलेसम्म केही नगरेको ब्यापारीले गुनासो गर्छन ।
महानगरका पैसा माग्ने प्रहरीकै कारण नेतृत्वलाई समेत वद्नाम गराउने खेल बारम्बार हुन्छ । आफ्नो अधिकार र कर्तव्य दुबै विर्सेको महानगरका प्रहरी पैसाका लागि कतिसम्म गर्छन भन्ने कुरा सडकपेटीमा पसल राख्नेहरुको पीडाबाट थाहा हुन्छ । १० रुपैयाँदेखि माथि घुस खान सुरु गर्ने महानगरका प्रहरी आफूले भनेको जस्तो भएन भने फुटपाथका व्यपारीलाई कुट्ने पिट्नेदेखि तीनका सामान छरपस्ट पार्ने र महानगरपालिकाको कार्यालयमा लगेर बाँडेर लानमा अब्बल रहेको आरोप लाग्दै आएको छ ।
महानगरका प्रहरीले सडकबाट व्यापारीसँग लुटेर लाने सामानहरु आदी हराउने गरेको छ । शुक्रबार पनि त्यस्तै घटना फेरि दोहोरिएको छ । सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताले प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो । उनीहरु नगर प्रहरीलाई आफ्नो शत्रु ठान्छन् किनभने आफूले खाइनखाई जोडेका पाँचवटा गाडा तिनले उठाइसके ।
नगर प्रहरीले शुक्रबार उनको गाडा उठाएको भिडियो भने यतिबेला भाइरल बनेको छ । नगर प्रमुख बालेन्द्र साहको चुनावी घोषणापत्रमा उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने उल्लेख थियो । घोषणापत्र कार्यान्वयन गर्नुको सट्टा महानगरले सडक छेउमा मकै पोल्नेहरुलाई काम गरेर खान नदिएको भन्दै चर्को आलोचना भइरहेको छ ।
नगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीले सडक नै ढाक्ने गरी मकैको व्यापार गरेको र नराख्न आग्रह गर्दा अपशब्द बोल्ने र प्रहरीलाई अगुल्टोले समेत हान्ने गरेकाले उठाएको दाबी गरे । लछारपछार गर्दा कति मकै सडकमा छरिएका थिए । गरिखाने गाडी र मकै नै लगेपछि अब के गरिखाने सोच्नै सकेका छैनौं परिवारले गुनासो गरे । नगर प्रहरीले बारम्बार सडकमा ब्यापार गर्नेहरुलाई सास्ती दिइरहेको छ ।
दिगो समाधानका लागि महानगरले कहिल्यै सोचेको छैन । बरु सर्वसाधारणले पेट पाल्न गरेको ब्यापार र किनेको ठेला गाडा समेत नगर प्रहरीले जफत गर्दा उनीहरु साह्रै मारमा परेका छन् । मेयर बालेन्द्र साहले दिगो समाधानका लागि पहल गर्न ढिला गर्न नहुने सर्वसाधारणले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौ महानगर, #नगर प्रहरी प्रमुख धनपति, #मकै ब्यापारी, #सडक पेटिमा ब्यापारी
तपाईको कमेन्ट लेख्नुहोस्