Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

सभापति देउवाको तीव्र आलोचना, गठबन्धन भन्दा पार्टीका गुट,उपगुट मिलाउन नेताहरुको सुझाव


काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफनो धारणाा राख्दै नेताहरुले सभापति देउवाले पार्टीलाई भन्दा बढी गठबन्धनलाई प्राथमिकता दिएको भन्दै चर्को आलोचना गरेका हुन । नेता विमलेन्द्र निधिले आम चुनावअघि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर जान सभापति देउवालाई आग्रह गरे । उनले पाँच दलीय गठबन्धनसँगै पार्टीभित्र पनि गठबन्धन गरेर जान आग्रह गरेका हुन् ।

पार्टीका विभाग र भ्रातृ संस्थालाई तत्काल पूर्णता दिनुपर्नेमा निधिले जोड दिए । उनले स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएर जित्नेहरूलाई पार्टीको पूर्ववत् जिम्मेवारी दिन पनि माग गरे । त्यस्तै अर्का नेता तथा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताए । उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने जिकिर गरेका थिए । विचार नमिल्ने देशहरुबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको खड्काको भनाई छ ।

त्यस्तै, अर्का नेता अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्ति राष्ट्रहरूको द्वन्द्वजस्ता अनेकौं चक्रब्युह देखिन थालेको बताए । उनले देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिँदै जान थालेको अवस्थामा ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ भन्ने प्रश्न समेत गरेका थिए । उनले विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सरकारबाट सर्वदलीय सहमतिद्वारा नै तय गर्नु आवश्यक रहेको बताउँदै ‘समानान्तर अर्थतन्त्र’ को नाममा भ्रष्टाचार, तस्करी, माफियागर्दी, कमिशनखोरी, आर्थिक अपराधीले खेलाएको कालो धनले राजनीतिमा पनि निर्णायक पहुँच बनाउन थालेको जिकिर गरे ।

चर्चित भ्रष्टाचार काण्डहरूको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी यथार्थ जनसमक्ष ल्याउने र न्यायोचित कारवाही गर्ने अग्रणी भूमिका काँग्रेसले निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा नेता बलबहादुर केसीले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने भए पहिला शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताए । केसीले पार्टी मिलाएर लैजान सभापति देउवालाई आग्रह गरेका थिए ।

बैठकमा नेतृ मिनाक्षी झाले गठबन्धनका नाममा मधेस प्रदेशमा कांग्रेस सिध्याउन खोजेको टिप्पणी गरिन । झाले कांग्रेसको टिकट खोस्दै प्रतिस्पर्धीलाई टिकट दिएर पार्टी कमजोर बनाएको बताइन् । २ नम्बर प्रदेशमा हाम्रो प्रतिस्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ? भन्दै उनले प्रश्न गरेकी थिइन । उपसभामुखको चयन तथा बिधेयक लगाएतका बिषयमा छलफल गर्नुपर्ने भएकाले बैठक केहि दिन लम्विने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केन्द्रीय समिति बैठक, #देउवाको चर्को आलोचना

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं