Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

उठ्ने भयो काठमाडौंको फोहोर, फोहोरको अवरोध हटाउन बञ्चरेडाँडामा भयो ३ बुँदे सहमति


काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न दिने सहमति भएको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न दिने र अवरोध अन्त्य गर्ने ३ बुँदे सहमति भएको हो ।

फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।

यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर, सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति भएको छ ।

छलफलमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #बञ्चरेडाँडामा फोहोर, #ल्याण्डफिल साइट

तपाईको कमेन्ट लेख्नुहोस्