Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

गुन बिर्सिएको भन्दै देउवा र प्रचण्डमाथि खनिए चोलेन्द्र शमशेर जवरा

महाभियोग निष्क्रिय भइसकेको दाबी


काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा । कानुनको सर्बोच्च निकाय सर्बोच्च अदालतको न्याय सम्पादन र फैसला गर्ने कुर्सीमा बस्नुपर्ने जवरालाई विभिन्न आरोप लगाउदै महाअभियोग सिफारिस समितिले बुधबार कठघरामा उभ्यायो । महाभियोग सिफारिस समितिले जवरालाई बयानका लागि ११ बजे नै बोलाएको थियो । उनी ११ बजे नै सिंहदरबारमा पुगेका थिए । तर, समितिले उनीलाई झण्डै दुई घण्टापछि बयान लिन सुरु गर्यो

जवरालाई महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरी सोधिएको थियो । तर, जवराले उल्टै केही प्रश्न महाअभियोग सिफारिस समितिका सदस्यहरुलाई नै फर्काएका थिए । बयानमा जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिर्दै आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे । उनले संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको जानकारी गराए । प्रश्नकै जवाफमा जवराले अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्वाकांक्षा रहेको दाबी गरे ।

कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो । प्रधानन्यायाधीश बनाउनुपर्यो भनेर म कहाँ प्रस्ताव आएको थियो तर मैले त्यसलाई अश्वीकार गरेँ । मैले न्यायपालिका यसरी चल्दैन भनेर अश्वीकार गरेको हो । म विधि र पद्धतिबाट आएको हुँ, पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ चोलेन्द्रले समितिले सोधेको प्रश्नमा जवाफ दिएका थिए । निलम्बित प्रधानन्यायाधीश जबराले शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन परमादेश जारी गर्ने पाँच न्यायाधीशमध्ये आफूमाथि मात्रै महाअभियोग लगाइएकोमा आपत्ति प्रकट गरे । जसलाई परमादेशले सरकारमा पठायो, उसैले आफूमाथि अन्याय गरेको गुनासो जवराले गरेका थिए ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासन दिइएको आरोप पनि जवराले लगाए । महाभियोग सिफारिस समितिमा बुधबार जवाफ दिने क्रममा राणाले २०७८ असार २८ गते भएको फैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्न गरे । जबराले आफूले गरेका फैसलामाथि प्रश्न उठ्नु कुनै अनौठो नभएको तर्क पनि महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा गरेका छन । जवराले न्यायाधीश हरिकृष्ण कार्कीमाथि आफ्नो स्वार्थ अनुसारको मुद्दा मात्रै हेर्ने गरेको आरोप लगाए ।

गत फागुन १ गते सत्ता पक्षका ९७ सांसदले राणामाथि २१ बुँदे आरोप लगाउँदै महाअभियोग प्रस्ताव दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाएको थियो । विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू संकलन गरेको थियो ।

यस्ता छन चोलेन्द्रमाथि लगाइएका गम्भिर आरोप
१.न्यायपालिकाको स्वतन्त्रता, शुद्धता, निष्पक्षता र गरिमामा गम्भीर रूपले कुठाराघात गरेको ।

२. मन्त्रिपरिषदमा भाग खोज्ने र आफ्ना मानिस नियुक्त गराउनेजस्ता कार्यमा संलग्न रही कार्यपालिकासँग अनुचित साँठगाँठ गरेको ।

३.न्यायपालिकामा देखिएको विकृति, विसंगति, भ्रष्टाचार र अनियमिततालाई रोक्न नसकेको ।

४.संवैधानिक इजलासमा विचाराधीन विभिन्न मुद्दाहरूको समयमै सुनुवाइ वा निरुपण नगरी कार्यपालिकीय शक्तिलाई रिझाउने काम गरेको ।

५.सशस्त्र प्रहरीका तत्कालीन वरिष्ठ अधिकृत रञ्जनकृष्ण कोइराला संलग्न ज्यान मुद्दामा मातहत अदालतबाट भएको फैसला उल्टी गरी गैरकानुनी ढंगले कैद घटाएको ।

६. विशेष अदालतमा महिनौंदेखि न्यायाधीशको पदपूर्ति गर्न अनिच्छुक रही न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको र न्यायाधीश सरुवा र काजमा खटाउँदा मापदण्डविपरीत अनियमितता गरेको ।

७.आफनो स्वार्थ सन्निहित मुद्दामा आफू संलग्न नहुने भनी संवैधानिक इजलासबाट घोषणा गरे पश्चात मुद्दाको लामो समयसम्म सुनुवाइ हुन नसक्ने वातावरण सिर्जना गरी संवैधानिक इजलासलाई अनिर्णयको बन्दी बनाएको ।

८.कार्यपालिका प्रमुख, राजनीतिक दलका नेताहरूसँग अनुचित, असंवैधानिक एवं अस्वाभाविक भेटघाट र सम्पर्क बढाइ पदीय गरिमा विपरीत न्यायपालिकाको स्वतन्त्रता र गरिमामा नै गम्भीर आँच आउने काम गरेको ।

९.नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसन समेतको संलग्नतामा गठन भएको न्यायपालिकाको विकृति, विसंगती र भ्रष्टाचारको सम्बन्धनमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन लागू गर्न अनिच्छुक देखिएको ।

१०.आफ्नै परिवारका कतिपय सदस्य र नातागोताका व्यक्तिहरू एवं आफूले नियुक्त गरेका कतिपय न्यायाधीश र पदाधिकारीलाई विचौलियाको रूपमा संलग्न गराई भ्रष्टाचार र अनियमितता गरी अवैध सम्पत्ति आर्जन गर्ने गराउने कार्यमा संलग्न रहेको ।

संसदमा छापामार शैलीमा महाअभियोग दर्ता भएपछि राणाविरुद्धको १०७ दिने आन्दोलन बारले स्थगित गरेको थियो । साउन २२ गते संसदले छानबिनका लागि समितिमा पठाएको हो । समितिले भदौ १९ गतेभित्रै छानबिन गरेर प्रतिवेदन बुझाउने तयारी गरेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद बिघटन गरेपछि पुर्नस्थापना गर्दै सर्बोच्च अदालतबाटै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेका चोलेन्द्र शमशेर जवरालाई उनै सत्तारुढ दलका सांसदले महाअभियोग लगाएका थिए ।

सत्तारुढ दलका ९७ सांसदले दर्ता गराएको महाअभियोग पारित हुने सम्भावना भने कमजोर देखिन्छ । किनकि नेकपा एमालेले अझै महाअभियोगबारे प्रष्ट धारणा बनाइसकेको छैन । महाअभियोग पारित गर्न एमालेको पनि साथ चाहिन्छ । समितिको प्रतिबेदन पेश भएपछि संसदले पारित गर्न सकेन भने चोलेन्द्र फेरि छोटो समयका लागि भएपनि सर्बोच्चको बागडोर सम्हाल्न पुग्नेछन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चोलेन्द्र शमशेर जवरा, #जवरालाई महाअभियोग, #सर्बोच्च अदालत

तपाईको कमेन्ट लेख्नुहोस्