Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

वडाध्यक्ष मुकुन्द रिजालको पनि एक्सनः अवैध सबै संरचना हटाउने,सरकारी सम्पत्ति खोज्ने


काठमाडौं । काठमाडौं महानगरको नगरप्रमुखका रुपमा बालेन्द्र साह निर्वाचित भएसँगै धेरैले आशा गरिरहेका छन, अब देशकै पुरानो महानगरमा केही सुधार हुन्छ । फोहोर व्यवस्थापनमा संघीय सरकार अनि सहरी विकास मन्त्रालयको भरपुर साथ नपाएर अनि नुवाकोटको सिस्डोल र बञ्चरेडाडामा भैरहने निरन्तरको आन्दोलनले आजित बनेका मेयर बालेन्द्र पछिल्लो समय भने निरन्तर राष्ट्रिय समाचार बनिरहेका छन् । यसरी चौतर्फी चर्चा र प्रशंसा बढाउने कारण हो, राणाकालमा भूमिगत बनाइएको टुकुचा खोला उत्खनन अनि भूमिगत पार्किङ खोज्दै चलाइएको डोजर । सार्वजनिक पर्ती जग्गामा बनाइएका र स्वयम व्यक्तिगत जग्गामा बनाइएका नक्सापास बिनाका भौतिक संरचना समेत काठमाडौं महानगरको डोजरको निसाना बन्दैआएका छन् ।

मेयर बालेन्द्रको अभियानका रुपमा काठमाडौं महानगर क्षेत्रको खोला अनि सार्वजनिक पर्ती जग्गाको अतिक्रमण रोक्न खोजिदैगर्दा महानगरको सबैभन्दा ठूलो क्षेत्रफल ओगट्ने वडा नम्बर १६ ले पनि अभियानलाई तीब्रता दिएको छ । यहाँ भाइरल वडाअध्यक्षका रुपमा चर्चित बन्दैआएका मुकुन्द्र रिजालले समेत मेयर बालेन्द्रकै जस्तो अभियान चलाईरहेका छन् । बिष्णुमती करिडोर आयोजनाले टेकु दोभानदेखि बालाजुहुँदै नयाँ बसपार्कसम्म दायाँबायाँ दुबैतर्फ खोला कोरिडोर सडक निर्माण अघि बढाएपनि एकतर्फको सडक विस्तार विष्णुमती नदीको महादेव खोला दोभानमा पुगेर अड्कीएको छ ।

अर्कोतर्फको करिब १ किलोमिटर खोला कोरीडोर मिचेर अबैद्य रुपमा २७ वटा घरटहरा बनाइएका छन्, काठमाडौं महानगरले कोरिडोरको मापदण्ड अनुसार अतिक्रमित संरचना भत्काउने तयारी गरिरहेको छ । विष्णुमती खोला कोरिडोरको अतिक्रमण मात्रै नभएर विगतका राजकुलोमाथी भएको अतिक्रमण रोक्न समेत वडा नम्बर १६ सक्रिय बनेको छ । सासा ब्याङ्केटको मध्य भागबाट बग्ने राजकुलोलाई सोह्रखुट्टे—बालाजु सडक कोरिडोर हुँदै बाहिरतर्फ मोडाएर गरिएको अतिक्रमण हटाउन समेत वडा र महानगरले खोजिरहेका छन् । कतिपय स्थानमा मिचेर साँघुरो बनाइएको छ । कतिपय ठाउँमा अतिक्रमण गरिएको छ ।

अहिले ढलका रुपमा अस्थित्वमा रहेको राजकुलो जोगाउन गरेको प्रयास कसैले पनि नसुनेको गुनासो स्थानीयहरुले गरिरहेका छन् । यो मात्रै होइन, नयाँ बजार क्षेत्रको अर्को राजकुलोलाई पनि संरक्षण गर्ने र अतिक्रमण हटाउने अभियानमा वडा अध्यक्षसहित महानगरको टिम जुटेको छ । सामाखुसी क्षेत्रतर्फ पर्ने राजकुलो आशपासका केही संरचनामा वडाले डोजर चलाएर अतिक्रमण हटाउन सचेत समेत गराएको छ । यो राजकुलो क्षेत्रमा अतिक्रमण हटाउने पहल भैरहँदा वडासँग स्थानीयको बिवाद समेत भएको छ ।

आफूहरुले कानुन अनुसार नै राजकुलो क्षेत्रमा छाड्नुपर्ने जग्गा छोडेर भवन बनाएको दाबी गर्ने स्थानीय अन्यायपूर्ण व्यवहार वडाबाट भएको गुनासो गरिरहेका छन् । खोडा कोरिडोरसँगै विगतका राजकुलोको खोली महानगर र वडास्तरबाट भैरहँदा अहिले धैरै संरचनाहरु बनिसकेका छन् । कतिपय स्थानमा राजकुलोमाथी सकड बनाएर ढलका रुपमा प्रयोग गरिएको छ भने कतिपय ठाउँमा मिचिएको पनि छ । कानुन कार्यान्वयन गराउन र अतिक्रमण हटाउने नाममा बिभेद गरिनुहुन्न ।

अतिक्रमणका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन । वाग्मती, विष्णुमती रुद्रमती र इच्छुमती अर्थात टुकुचा खोलाकोरिडोर क्षेत्रमा मात्रै ५ सय रोपनी बढी खोलाउकास, सार्वजनिक पर्ती जग्गा अतिक्रमणकारीको पञ्जामा छ । अतिक्रमणलाई राजनीतिक संरक्षण दिई राज्यका सम्बन्धित निकायबाट बिजुली र पानीको लाइन एवम् मतदानको अधिकार प्रदान गरेर बैधानिकता दिने काम समेत भैरहेको छ ।

९० प्रतिशत सम्पन्न र १० प्रतिशत मात्र वास्तविक सुकुम्बासीले कब्जा गरेको काठमाडौं महानगरको खोला कोरिडोर क्षेत्र खाली गरेर सुकुम्बासीका नाममा भैरहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउन मेयर बालेन्द्र र महानगरले मात्रै सक्छ वा राज्यकै सक्रियता चाहिन्छ ? प्रश्नसँगै चासोका साथ प्रतिक्षा भइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौ महानगर, #जग्गाको अतिक्रमण, #बालेन्द्र साह निर्वाचित

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं