Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सिंहदरबार वैद्यखानामा कर्मचारीको झगडा, नेतृत्वमा पुग्न हानथाप, झन् झन थला पर्दै


काठमाडौं । २०५२ सालबाट सिंहदरबार वैद्यखाना विकास समितिको रुपमा सञ्चालित दक्षिण एसियाकै जेठो सिंहदरबार बैद्यखाना औषधालय बन्द हुने अवस्थामा पुग्नु देशकै लागि ठूलो बेइजतीको विषय हो । नेपाल सरकारको स्वामित्वमा रहेको भएपनि वैद्यखाना बर्षेनी दयनीय बन्दै गएको छ । सरकारी बेवास्ताका कारण कमजोर बन्दै गएको वैद्यखाना पछिल्लो समय व्यवस्थापन र कर्मचारीको गुटगत झगडाका कारण उठ्नै नसक्नेगरि थलिएको छ । बर्षौ पुराना भवन, जिर्ण भौतिक संरचना र लथालिंग व्यवस्थापनका कारण भद्रगोल बनेको बैद्यखाना कहिले बन्द हुने हो ठेगान छैन ।

बैद्यखाना भौतिक रुपले मात्रै कुरुप छैन, बनेको नयाँ संरचना समेत प्रयोगमा ल्याउन सकिएको छैन । भवन डिभिजन लगायतका सरकारी इन्जिनियरले बनाएको भवन नै पानीपर्दा जलमंग्न हुनेगरि बनाइएको भन्दै सिंहदरबार वैद्यखाना विकास समितिले नयाँ भवनलाई बेवारिसे बनाएर पुरानै ठाउँबाट औषधालय सञ्चालन गरिरहेको छ । औषधालयको भवन मात्रै लथालिंग भताभुंग छैन, श्रोत साधनको व्यवस्थापन, संरक्षणमा समेत ध्यान पुगेको देखिदैन । परिसरभित्र र बाहिर राखिएका निकैपुराना सामग्रीले नै सिंहदरबार बैद्यखानाको बिजोक अवस्थालाई देखाइरहेका छन् ।

पछिल्लो समय जडिबुटी खरिदसँगै औषधी उत्पादन समेत ठप्प जस्तै छ । विगतमा उत्पादन गरिएका औषधीको भण्डार र म्याद नाघिसकेका औषधीको व्यवस्थापनमा समेत सिंहदरबार वैद्यखाना विकास समिति गम्भिर देखिएको छैन । म्याद भएका भन्दा बढी औषधी यतिबेला सिंहदरबार बैद्यखानाका गोदाममा छन् । औषधी भण्डारण पनि भद्रगोल भएको छ । करिब चौध रोपनी सरकारी जग्गामा फैलिएको सिंहदरबार वैद्यखाना विकास समितिले हरेक वर्ष ५ करोडको औषधि बिक्रि गर्ने लक्ष्य लिएको छ । तर, पछिल्लो ५ वर्षमा एक वर्ष बाहेक कहिल्यै पनि लक्ष्य अनुसारको उत्पादन र बिक्रि गर्न सकिएको छैन ।
पाँच आर्थिक वर्षमा सिंहदरबार बैद्यखानाले बेचेको औषधीको यो विवरण हेरौँ 
आर्थिक वर्ष २०७४/७५ – ५ करोड ३४ लाख
आर्थिक वर्ष २०७५/७६ — २ करोड ४८ लाख
आर्थिक वर्ष २०७६/७७ — २ करोड १७ लाख
आर्थिक वर्ष २०७७/७८ — २ करोड ६८ लाख
आर्थिक वर्ष २०७८/७९ – १ करोड ९० लाख हाराहारि
उत्पादन त यतिबेला शुन्य जस्तै छ । विगतमा उत्पादन भएका जटिबुटीको बिक्रि बढ्नुको साटो वर्षेनी घट्दो क्रममा देखिएको छ । दुई वर्षदेखि जटिबुटी खरिद प्रक्रिया प्रभावित भएसँगै उत्पादन र बिक्रि घट्दै गएको छ भने पटक पटक नेतृत्व परिवर्तन हुने र भएका नेतृत्वले पनि काम गर्न नसक्दा सिंहदरबार बैद्यखाना अस्थित्व लोप हुने जोखिममा देखिएको छ । जडिबुटीको अभावसँगै उत्पादन र बिक्रि त घटेको छ नै बैद्यखानाका उपकरणहरु पनि पुराना भएका छन् ।

करोडौँ मुल्यका उपकरणहरु समेत जठिबुटी अभावले चलायमान नहुँदा बिग्रिने र नचल्ने अवस्थामा पुगेका छन् । वैद्यखाना अझै पनि पुरानै शैलीमा अघि बढीरहेको छ । आवश्यकता र समय अनुसार विकास गर्न नसकिएको वैद्यखानाबाट गुड म्यानुफ्याक्चर प्राक्टिस (जीएमपी) अनुसार औषधि उत्पादन हुन सकिएको छैन । सरकारले केही करोड मात्रै बजेट पठाउने, अनि बैद्यखानाले उत्पादन बढाएर आम्दानी गर्न नसक्दा २०÷२५ करोड रकम खर्चेर जीएमपीमा जानेसक्ने अवस्था छैन ।

बर्षौदेखी रोकिएको औषधी उत्पादनका कारण करोडौँ मुल्यका अहिलेका उपकरण समेत कबाडीमा परिणत हुने चिन्ता बढाएको छ । वैद्यखानाले करिब २ बर्षअघि रस औषधि बनाउने फर्नेस (मेसिन) ५ लाख रुपैयाँमा खरिद गरेको थियो । यो फर्नेस एकपटक पनि संचालनमा नल्याइएको भएपनि प्रत्येक बर्ष फर्नेस मर्मत सम्भारको शीर्षकमा बजेट खर्च गरिएको पाइएको छ । ल्याउँदै बिग्रिएर संचालनमै नआएको मेसिन मर्मतका नाममा बजेट निकासा गराएर तत्कालिन कार्यकारी निर्देशक डा. बंशदिप शर्मा खरेलले अनियमित काम आएको भएपनि कारबाहीको हिम्मत कसैले गरेको देखिदैन ।

नीजि औषधी उत्पादनकसँग सिंहदरबार बैद्यखानाका व्यवस्थापकसँगै कर्मचारी सम्मले साँठगाँठ गर्दैगर्दा बैद्यखाना जोगाउन सरकार समेत गम्भिर देखिएको छैन । कर्मचारीमा झांगिएको चरम राजनीति र गुटबन्दी, कुशल व्यवस्थापक पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रीले गर्दैआएको अटेरी र सिंहदरबार बैद्यखानाको यो बेहाल स्वरुपले सयौँ बर्षे इतिहास जोगाउन राज्य संयन्त्र र कर्मचारीकै हात रहेको प्रष्ट देखाएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जटिबुटीको बिक्रि, #सिंहदरबार बैद्यखाना, #सिंहदरबार वैद्यखाना

तपाईको कमेन्ट लेख्नुहोस्