रुकुमपश्चिमको कांग्रेसलाई लागेन चुनाव,मतदान कसलाई गर्ने भन्ने नै अन्योल
कांग्रेसको २६ हजार ६ सय १९ मत कसलाई जाला ?

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल देशभर तातिएको छ । कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरु संयुक्त झण्डा र ब्यानर लिएर चुनावी मैदानमा उत्रिएका छन् । रुकुमपश्चिममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र स्वतन्त्रले चुनावी अभियान चलाइरहेका छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेस रुकुमपश्चिमका नेता कार्यकर्तालाई भने चुनाव आएजस्तो नै लागेको छैन । देशभर सत्ता गठबन्धनका उम्मेद्वारसँगै झण्डा बोकेर मत माग्न घरदैलो अभियान चलाइरहेका छन् । गठबन्धनमा रहेका दलहरु एकले अर्कोलाई मत माग्दै चुनावमा होकिएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एमालेलाई मात्रै होइन राप्रपालाई समेत रुकुमपश्चिममा मत माग्न भ्याई नभ्याई छ । स्वतन्त्र उम्मेदवार समेत मतदाताको घरदैलोमा छन् । तर, विगतको निर्वाचनमा माओवादी केन्द्रसँग प्रतिष्पर्धा गरिरहेको जिल्लाको दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई भने चुनाव आएको कुनै मतलव नै छैन । मंसिर ४ को निर्वाचन नजिकिएपनि रुकुमपश्चिमको कांग्रेसले भने मतदान कसलाई गर्ने भन्ने टुंगो लगाएको छैन । चुनावी दौडधुप हुनुपर्ने कांग्रेसका जिल्लाका नेताहरु अझै काठमाडौमै छन् ।
प्रतिनिधिसभा, प्रदेश सभा र प्रतिनिधिसभाको समानुपातिकमा समेत उम्मेद्वार नभएपछि कांग्रेसजन चिन्तित छन् । जसका कारण जिल्लामा न त कांग्रेसका नेतालाई चुनाव आएजस्तो लागेको छ न त कार्यकर्तालाई नै । केन्द्रमा भएको सत्ता गठबन्धनको भागबण्डामा रुकुमपश्चिमको कांग्रेसले कुनै पनि सिट पाएन । एउटा प्रतिनिधिसभा र दुई प्रदेश सभामा माओवादी केन्द्रले नै उम्मेदवार उठाएको छ । जसका कारण माओवादीको उम्मेद्वारीलाई कांग्रेसले सहज रुपमा लिएको छैन ।
चुनाव आउन दुई साता मात्रै रहँदा पनि रुकुमपश्चिमका कांग्रेसमा अन्योल छ । तल्लो तहका कार्यकर्तालाई माओवादीलाई मत हाल्न निर्देशन समेत दिन नसकिने कांग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्री बताउछन् । रुकुमपश्चिमको एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार छन् । २०६४ देखि निरन्तर चुनाव जित्दै आएको नेकपा माओवादी केन्द्रसँग भिड्न जिल्लाको दोस्रो ठूलो दल नेपाली कांग्रेस प्रतिष्पर्धामा छैन । निरन्तर चुनाव जित्दै आएका शर्मा प्रतिष्पर्धी दल नै गठबन्धनमा भएपछि जित निकाल्नेमा ढुक्क छन् । तर, शर्मालाई चुनौति दिन नेकपा एमालेका तर्फबाट नन्दराम देवकोटा र स्वतन्त्रबाट तारक केसी चुनावी मैदानमा छन् । पटक–पटक माओवादीले चुनाव जित्दा समेत जिल्लामा विकास हुन नसकेको भन्दै जनताले एमालेलाई मतदान गर्न आतुर भएको एमालेका उम्मेद्वार देवकोटा बताउछन् ।
विगतमा पनि पार्टीले नै सबै क्षेत्र जितेको र समग्र कर्णालीको विकासमा माओवादीले नै योगदान पु¥याउने दाबी प्रदेश २ का गठबन्धनका उम्मेदवार राजकुमार शर्मा बताउछन् । कांग्रेसको उम्मेद्वार फिर्ता भएसँगै स्वतन्त्रबाट उमेद्वार बनेका तारक केसी बलियो प्रतिष्पर्धी बनेका छन् । गठबन्धनको सिट बाँटफाँटमा असन्तुष्ट बनेको कांग्रेसले आफूलाई सहयोग गर्नेमा केसी ढुक्क जस्तै छन् । उनले कुनै ब्यक्तीका बिरुद्धमा आफ्नो उम्मेद्वारी नभएको भन्दै बेथिति र अन्याय अनि थिचोमिचो हटाउन उम्मेद्वारी दिएको दाबी गर्छन ।
रुकुमपश्चिममा ६ वटा स्थानीय तहमध्येमा मुसिकोट नगरपालिका र बाँफीकोट गाउँपालिका कांग्रेसले जित्दा बाँकी चार पालिका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका तथा सानीभेरी, त्रिवेणी गाउँपालिकामा माओवादीले जितेको थियो । स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा माओवादीसँग ३६ हजार दुई सय ९० मत छ भने कांग्रेससँग २६ हजार ६ सय १९ मत छ । एमालेको भने ६ हजार ९१ मत छ । २६ हजार ६ सय १९ मत रहेको कांग्रेसलाई चुनाव नै आएजस्तो नलाग्दा त्यो मत कुन उम्मेदवारलाई जान्छ यसै भन्न सक्ने अवस्था छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #तारक केसी बलियो प्रतिष्पर्धी, #निर्वाचनको माहोल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्