Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सत्ता गठबन्धनको निष्कर्षः गठबन्धनको निरन्तरता, भागबण्डाका आधारमा सत्ता सञ्चालन


काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको बताइएको छ । सोमबार बसेको गठबन्धनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख छ ।

निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने भन्दै विज्ञप्तिमा गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए ।

निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा पनि गठबन्धनले धेरै स्थानमा जित निकालेको छ । तर, गठबन्धनमा आबद्द भएका दलले नै गठबन्धनलाई सहयोग नगरेको भन्दै कतिपय नेताहरुले आरोप लगाएका छन ।

नेकपा माओवादी केन्द्रले त गठबन्धनले सोचेअनुरुप साथ नदिएको निष्कर्ष निकालेको थियो । नेकपा एकीकृत समाजवादी पार्टीले पनि गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले साथ नदिएको आरोप लगाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गठबन्धनको निरन्तरता, #सत्तारुढ गठबन्धन

तपाईको कमेन्ट लेख्नुहोस्