Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

मानव जीवनमा फेरिदो जीवनशैलीले निम्त्याउदैं जोखिम, नसर्ने रोग बढ्दो


काठमाडौं । नेपालमा पछिल्लो समय नसर्ने रोगहरु निकै बढेको पाइएको छ । प्रकोपको कारण ठूलो मात्रामा धनजनको क्षति हुनुका साथै मृत्यु हुनेको संख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको अध्ययनले देखाएको छ । नेपालमा भएका कुल मृत्युमध्ये नसर्ने रोगबाट हुने मृत्युको अनुपात सन् २०१० मा ५१ प्रतिशत बाट बढेर अहिले ७१ पुगेको तथ्यांकले देखाएको छ । बेलामौकामा फैलने भाइरसका महामारीले छोटो समयमा धेरैको ज्यान लिने गरेको छ ।

कोरोना महामारी पनि यसको एउटा उदाहरण हो । यस्ता महामारी बिश्वभर धेरै पटक फैलिएका छन् । तर, सूक्ष्मरूपमा मानव स्वास्थ्यमा प्रवेश गर्दै ज्यान लिने नसर्ने रोगको खतरा झनै बढ्दै गएको छ । सबै उमेर समूहमा नसर्ने रोगको प्रकोप बढेको विभिन्न समयमा गरिएका अध्ययनले पुष्टि समेत गरेका छन् । फेरिएको जीनवशैली र विषादीयुक्त खानाका कारण नसर्ने रोगले अत्यासलाग्दो स्थिति सिर्जना भएको छ । मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी र क्यान्सरजस्ता नसर्ने रोगबाट ज्यान गुमाउने नेपालीको संख्या अन्य सर्ने रोगको तुलनामा उच्च रहेको पाइएको छ ।

सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक गतिविधिमा कमी, मादक पदार्थको सेवन, अस्वस्थकर खानपान र जीवनशैलीसँग सम्बन्धित अन्य व्यवहारका कारण दिर्घरोगीको संख्या बढेको मधुमेहरोग बिषेशज्ञ डा दिपक मल्ल बताउछन् । नेपालमा सन् २०१९ मा गरिएको सर्भेअनुसार नेपालमा प्रत्येक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिसको विभिन्न रोगको कारण मृत्यु हुने गरेको छ । जसमध्ये करिब ७१ प्रतिशत नागरिकको नसर्ने रोगका कारण मृत्यु भएको तथ्याङ्क छ ।

प्रत्येक पाँच जनामध्ये चार जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । नेपालमा नसर्ने रोगहरुको आर्थिक भार प्रत्येक वर्ष बढ्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनकाअनुसार नसर्ने रोगहरुका चार प्रमुख कारक तत्वहरुलाई रोकथाम तथा नियन्त्रण गर्न सके ८० प्रतिशत भार कम हुने देखाएको छ । यी रोगहरुबाट पीडित परिवार र समुदायको संख्या पनि निरन्तर बढ्दै गएकोले सरकारले नसर्ने रोग तर्फ बिषेश योजना निति निर्माण गर्नपर्ने पूर्व स्वास्थ्य सचिव खगराज बराल बताउछन् ।

शारीरिक परिश्रम बिनाको जीवनशैली र अस्वस्थ खानपानका कारण नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या सर्ने रोगबाट मृत्यु हुनेकोे तुलनामा बढ्दै गएको हो। २१.१ प्रतिशत मृत्यु सर्ने, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको देखिएको छ । साथै दुर्घटनाका कारण भएको चोटपटबाट ७.८ प्रतिशत मृत्यु भएको देखिएको छ ।

सन् २०१७ मा गरिएको अर्को एक अध्ययनले रोग, दुर्घटना, कुपोषण, सुत्केरी स्याहारलगातको कारण भएको कूल मृत्यु मध्ये ६६ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण भएको तथ्य प्रकाशमा आएको थियो । नसर्ने रोग पनि संक्रामक रोग हरु भन्दा बढी जोखिमपूर्ण देखिएकोले नागरिक स्वयंले पनि आफ्नो स्वास्थ्य प्रति पूर्ण सजक हुनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नसर्ने रोग बढ्दो, #प्रकोपको कारण ठूलो, #फेरिदो जीवनशैली, #महामारी बिश्वभर

तपाईको कमेन्ट लेख्नुहोस्