Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

संसदीय दलको नेताका लागि चुनाव : गगनले मनोनयन दर्ता गर्दा मुसुमुसु हाँसे देउवा


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन समूहबाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयन परेको छ भने इतर समूहबाट गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । अंकगणितीय हिसावले केही कमजोर देखिएका गगन थापाले मनोनयन दर्ताको समयमा युवा पुस्ताको बलियो साथ पाएका छन् । युवा पुस्ताको बलियो साथ पाएका गगनको उम्मेदवारीलाई देउवाले त्यो समयमा सर्वसक्तिमान मानिने आफ्नै नेता गिरिजाप्रसाद कोइरालालाई चुनौति पेश गरेकै अर्थमा हेर्न थालिएको छ ।

देउवाको जित सुनिस्चित रहेको दावी गर्ने देउवा समूहकै कतिपय सांसद पनि यो प्रतिस्पर्धाले आन्तरिक लोकतन्त्रलाई थप मजबुत पार्ने विश्वास व्यक्त गर्दछन् । संख्या बलको हिसावले हेर्दा देउवा सुविधाजनक अवस्थामा भएकाले देउवाको जित सुनिस्चित भएकोमा भने देउवा समूह ढुक्क देखिन्छ । मनोनयन दर्ता भएसँगै नेपाली कांग्रेस मात्रै त्यस्तो पार्टी बनेको छ, जसको संसदीय दलको नेता निर्वाचनबाट चुनिने छ ।

मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री गगन थापाले सांसदहरु देशभरीको जनमतलाई सम्मान हुने गरि मतदान प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । यसअघि इतर समूहबाट संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद देखिएको थियो । शेखर कोइराला आफ्नो दावीबाट पछि हटेपछि गगनको नाममा सहमति जुटेको हो ।

चुनावकै मैदानबाट गगनलाई कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका विश्वप्रकाश शर्मा पनि इतर समूहले थापाको नाममा सहमति जुटाएपछि अन्तिम समयमा बैठक स्थलमा पुगेका थिए । गगन र विश्वप्रकाश एक ठाउँमा उभिएको अवस्थामा मौन बसेका तर कता जान्छन् भनेर चासोका साथ हेरिएका युवा नेता प्रदीप पौडेल समेत अन्ततः गगनकै समर्थक बने ।

अंकगाणितीय हिसावले सहज अवस्थामा रहेको मानिएको देउवा समूहलाई पनि प्रदीप पौडेल थापाको पक्षमा खुल्दा दवाव महशुश भएको छ । गगनलाई समर्थन गर्न बैठकस्थलमै पुगेका महामन्त्री शर्माले कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले पनि आफ्नो विकल्प प्रस्तुत गर्न सक्नुपर्ने धारणा राखेका थिए ।

अन्तिम समयमा प्रदीप पौडेललाई आफ्नो समूहमा तान्न सफल भएझैं देउवा समूहका अन्य सांसदलाई पनि आफ्नो पक्षमा तान्न सकेको अवस्थामा गगन थापाले देउवालाई कडा चु्नौति पेश गर्ने निस्चित छ । तर त्यसका लागि देउवा समूहबाट कम्तिमा १० जना सांसद तान्न सक्नु्पर्ने छ । अहिले पनि देउवा समूहमा ५४ जना सांसद छन् भने गगनसँग प्रदीप आएसँगै ३५ सांसद पुगेका छन् । गगनले मनोनय दर्ता गर्दा देउवा छेउमै मुसुमुसु हासेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गगन थापा, #नेपाली कांग्रेस संसदीय दल, #संस्थापन समूह

तपाईको कमेन्ट लेख्नुहोस्