Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

संघीय सरकारको भागबण्डा कुर्दै प्रदेशका नेता, कुन प्रदेशको मुख्यमन्त्री कसले पाउला ?


काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबाट फेरिएको दलीय समिकरणका कारण नेपाली कांग्रेसले संघ र प्रदेशका सबै सरकारमा सहभागि हुने गरी छलफल अघि बढाएको छ । यतिबेला एमालेले नेतृत्व गरिरहेका प्रदेशमा मात्रै होइन अन्य प्रदेशमा समेत कांग्रेसले आलोपालो मुख्यमन्त्रीको दाबी गरिरहेको छ । तर, प्रदेशमा जुन दलले मुख्यमन्त्रीको दाबी गरेपनि केन्द्रमा गरिने भागबण्डा र सहमतिको खाकाको पखाईमा प्रदेशका नेताहरु छन् । संघमा बदलिएको सत्ता समिकरणले प्रदेश सरकारहरुलाई समेत धक्का लागेको छ ।

केन्द्रमा नेकपा एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेस लगायतका दलहरु सत्तामा जान छलफलमा जुटेका छन् । उनीहरुको छलफलको प्राथमिकतामा केन्द्रीय सरकार मात्रै होइन प्रदेश सरकार पनि कसरी बनाउने भन्ने नै छ । पुस १० गतेको एमाले–माओवादी सहमतिका कारण जताततै सत्ता बाहिर रहेको कांग्रेस राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनका कारण गुमेको सत्ता यात्रा फेरि पाएको छ । तर, कांग्रेस प्रदेशका सरकार कतिबेला ढल्छन् भन्ने बाटो कुरेरै बसेको छ । सुदुरपश्चिममा एमालेका मुख्यमन्त्रीले विश्वासको मत नपाउँदा कांग्रेसले बाजी मारेको छ । मुख्यमन्त्री पाएपनि कांग्रेसले सरकारलाई भने पूर्णता दिन सकेको छैन् ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार छ । ती प्रदेशमा गठबन्धनका माओवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेका छन । चारवटै दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ र संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । फेरिएको दलीय गठबन्धनका कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था देखिदैन् । जसलाई कांग्रेसले आफनो पक्षमा पार्न भरपुर कोसीस गर्ने देखिन्छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा सभामुखसहित गठबन्धन ४७ र एमाले–राप्रपाका ४६ सांसद छन । मत बराबर भए सभामुख निर्णायक हुने अवस्था आउन सक्छ । कोशीमा माओवादीका बाबुराम गौतम सभामुख भएका कारण अहिलेको गठबन्धन नै बलियो छ ।

एमालेका खगराज अधिकारी मुख्यमन्त्री रहेको गण्डकी प्रदेशमा माओवादी र राप्रपाले समर्थन गरेका छन् । जहाँ माओवादीले समर्थन फिर्ता लिए कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सरकारको दाबी गर्ने देखिन्छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व पनि एमालेले नै गरिरहेको छ । जहाँ समर्थन फिर्ता लिए कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री दाबी गर्ने बताइरहेका छन् । तर, एमालेका सरकारलाई दिएको समर्थन अहिले बनेको सत्तारुढ गठबन्धनकै दलले समर्थन फिर्ता नलिदा कांग्रेस पर्खेर बसेको छ ।

मधेश, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेकै दलको नेतृत्वमा सरकार छ । वाग्मती र कर्णालीमा माओवादी र मधेशमा जसपाले सरकारको नेतृत्व गरेका छन् । सुदूरपश्चिमबाहेक अन्य प्रदेशको सरकारमा एमाले सहभागी छ । कर्णालीमा माओवादीका तर्फबाट राजकुमार शर्मा मुख्यमन्त्री हुँदा कांग्रेस सत्ता बाहिर छ । जहाँ कांग्रेस संसदीय दल नेता जीवनबहादुर शाहीले केन्द्रको निर्णय कुरेर बसेका छन् ।

जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार रहेको मधेश प्रदेशमा बदलिएको सत्ता समीकरण अनुसार कांग्रेस सरकारमा जान तयार देखिन्छ । यसका लागि जसपाले वातावरण निर्माण गर्नुपर्छ । प्रदेशमा जुन दलले नेतृत्वको दाबी गरेपनि आखिर केन्द्रको सहमति नै कार्यान्वयन हुने देखिन्छ । संघीय सरकारमा भागबण्डा मिले प्रदेशमा पनि अहिले बनेको सत्ता गठबन्धनकै दलका नेताहरुले मुख्यमन्त्री पाउँदा एमाले सबैतिर प्रतिपक्षको भूमिकामा जाने भएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कोशी, #गण्डकी र लुम्बिनी, #नेकपा एमाले, #राष्ट्रपति र उपराष्ट्रपति

तपाईको कमेन्ट लेख्नुहोस्