Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रश्नको ओइरो, जवाफ दिनै रोक्ने एमाले रणनिति !


काठमाडौं । चारदिने भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा भार भ्रमणबारे जानकारी दिन रोष्ट्रम पुगेका दाहाललाई भने प्रतिपक्षी दलका सांसदहरु हम्मेहम्मे पारे । एमालेसहितका विपक्षी दलहरुले भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भिर ढंगले आग्रह गरेको समेत जानकारी दिएका छन् । दुई मुलुकबीचको सीमालगायतका थाँति रहेका सबै समस्याहरुको समाधान गर्ने विषयमा सकारात्मक छलफल भएको दाहालको दाबी छ ।

भारत भ्रमणबारे संसदलाई जानकारी दिन रोष्ट्रम पुगेका दाहाललाई सांसदहरुले नागरिकता विधेयकबारे समेत सवाल राखेपछि उनले संवैधानिक व्यवस्थाअनुसार विधेयक प्रमाणीकरण भएको दाबी गरेका थिए । त्यसलगत्तै एमाले सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्नको ओइरो लगाएका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले भने संघीय संसदले दुईदुई पटक पारित गरेको नागरिकता विधेयक फेरी संसदमा ल्याउनु संसदकै अपमान हुने बताए । दाहालले अघिल्लो सदनले दुई दुई पटक विधिसम्मत ढंगले पारित गरेको विधेयक अहिलेको संसदले मान्दिन भन्न नमिल्ने समेत बताए । नागरिकता विधेयकका बारेमा बहश शुरु भएपछि सभामुख देवराज घिमिरेलाई बैठक सञ्चालन गर्न समेत समेत हम्मेहम्मे परेको सोमबारको संसद बैठक पछिल्ला केहीदिनयताकै तनावपुर्ण रह्यो ।

कैयौंपटक सत्तापक्ष र प्रतिपक्षी सांसदहरुका बिचमा सवाल जवाफ समेत भएको थियो । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न उठाएका छन् । संसदको सोमबारको बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणको उपलब्धी राँगा ल्याउनेमात्रै भएको व्यङ्ग्य गरेका छन् । संसद बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरु हुनुपर्ने भएपनि एमालेसहितका दलहरुले प्रधानमन्त्री दाहालको भारत भ्रमण र नागरिकता विधेयक प्रकरणमा सवाल उठाएपछि बैठक नै प्रभावित बनेको हो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रतिपक्षी दल, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #भूमि साट्न सकिने

तपाईको कमेन्ट लेख्नुहोस्