Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

चीनसँगको सम्बन्ध सुधारमा अमेरिकाको जोडबल


काठमाडौं । चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ भने साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने स्वार्थ छ । यी दुवै देशसँग पछिल्लो समय अमेरिकाको सम्बन्ध बिग्रिएको छ । विग्रदो कूटनीतिक सम्बन्धका कारण वासिङ्टन सम्बन्ध सुधारमा लागेको छ । गतसाता चीनका रक्षामन्त्री ली साङफुले चीन र अमेरिकाबीच द्वन्द्व भएमा विश्वमा असह्य विपत्ति पैदा हुने चेतावनी दिएका थिए । यो विपत्ति टार्नका लागि बेइजिङ वासिङ्टनसँग संवादका लागि तयार रहेको बताएका थिए । त्यसको केही दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले विषम परिस्थिति आउन लागेको भन्दै सामनाका लागि तयार हुन आफ्ना सेनालाई निर्देशन दिएका थिए ।

बेइजिङबाट वासिङ्टनले प्राविधिक तथा सैन्य कारणले सुरक्षा खतरा रहेको बताउँदै आएको छ । पछिल्लो समय राष्ट्रपति सी र रक्षामन्त्री लीबाट यस्तो चेतावनी आएपछि वासिंटन बेइजिङसँग संवादका लागि तयार देखिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सम्बन्ध सुधारको प्रयासस्वरूप बेइजिङ भ्रमण गर्ने तयारी थालेका छन् । दशकदेखि चिसिएको द्वीपक्षीय सम्बन्ध सुधारका लागि उनी यही महिना चीन जाने बताइएको छ । फेब्रुअरीदेखि उनले बेइजिङ जाने तयारी थालेपनि हालसम्म पुगेका छैनन् ।

अमेरिकी हवाई क्षेत्रमा चीनले जासुसी बेलुन पठाएको घटनापछि वासिङ्टन बेइजिङसँग थप रूष्ट बनेको थियो । गत नोभेम्बरमा इन्डोनेसियाको राजधानी बालीमा भएको जी–२० सम्मेलनमा दुवै मुलुकका राष्ट्र प्रमुखहरुले सम्बन्ध सुधारका लागि आफूहरू तयार रहेको बताएका थिए । यसका लागि दुवै पक्षबाट सौहार्द संवादको पहल हुने उनीहरूको उदघोष थियो । तर जासुसी बेलुन प्रकरणका कारण कुनै पहलकदमी हुन सकेन ।

हालै जापानको हिरोसिमामा भएको जी–७ राष्ट्रको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई मुलुकको सम्बन्ध बेलुन प्रकरणपछि निकै चिसिएको बताएका थिए । बाहिर यस्तो चर्चा गरे पनि आन्तरिक रुपमा भने ह्वाइटहाउसले सम्बन्ध सुधारको पहल जारी नै राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको दाबी छ । हाल ह्वाइटहाउसले बाइडेन र सीको टेलिफोन वार्ता गराउन खोजिरहेको छ । चीनले वासिङ्टनमा हालसालै आफ्नो राजदूत पनि पठाएको छ । दुई मुलुकको सैन्य संयन्त्रको सम्बन्ध भने हाल चिसिएको छ ।

चीनका रक्षा मन्त्री ली साङफुले अमेरिकी समकक्षी लोएड अस्टिनसँग भेटका लागि अस्वीकार गरेका थिए । आफ्नो सेनापतिमाथि अमेरिकी प्रतिबन्धका कारण उनले भेट्न अस्वीकार गरेका हुन् । चीनले इरान र अरबलाई मिलाएपछि इजरायल र अरबको सम्बन्धमा पनि सुधार ल्याउन सक्रिय हुने बताएसँगै अमेरिकाले अरबमा कूटनीतिक सक्रियता देखाएको जानकारहरूको बताएका छन् । चीनसँग कूटनीतिक सम्बन्ध सुधारका लागि पहल बढाएको अमेरिकाले साउदी अरेबियासँग पनि संवाद अघि बढाएको छ ।

मध्यपूर्वमा चिनियाँ मध्यस्थतापछि इरान र अरबको मेलमिलापपछि अमेरिकाले साउदीसँग कुनै संवाद गरेको थिएन । साउदी अरबले तेलको उत्पादन कटौती गर्ने निर्णय लिएको भोलिपल्टै ब्लिंकेन त्यहाँ पुगेका थिए । पेट्रोलियम पदार्थको सवालमा रूससँगको साझेदारी अमेरिकाले रोकेपछि रियाद वासिङ्टनसँग रूष्ट छ । आफ्नो कच्चा तेललाई विश्व बजारमा सरल पहुँचका लागि अमेरिकाले बाधा खडा गरिरहेको रियादको आरोप छ । रियाद र वासिङ्टनको सम्बन्ध सन् २०१९ देखि विग्रिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति हुनुअघिको अभियानमा रियादलाई असामाजिक भनेका थिए । आफू राष्ट्रपतिमा निर्वाचित भए रियादलाई त्यसैगरी व्यवहार गर्ने उनको उदघोष थियो ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्