Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

चार दल मिलेर बनेको समाजवादी मोर्चाको सोमबार औपचारिक घोषणा, १५ बुँदे प्रतिबद्धता तयार


काठमाडौं । लामो समयको आन्तरिक छलफलपछि अन्ततः नेकपा माओवादी केन्द्र सहितका दलहरुको समाजवादी मोर्चा बन्ने निश्चित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो । योसँगै सोमबार राजधानीको राष्ट्रिय सभागृहमा औपचारीक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा गरिने भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहित बिप्लव नेतृत्वको नेकपालाई समाहित गरेर समाजवादी मोर्चा बन्ने निश्चित भएको छ । सोमबार राष्ट्रिय सभा गृहमा औपचारीक रुपमा समाजवादी मोर्चा घोषणा हुनेछ । संसदमा प्रतिनिधित्व गर्ने तिन दल र संसद बाहिरको एक दल गरी समाजवादी मोर्चा बन्ने भएको हो ।

समाजवादी मोर्चा बन्ने भएपछी चार दलमा आबद्ध नेता कार्यकर्ताहरु उत्साहित भएका छन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताए । निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वभाविक भएको बताउदै नेपालले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरु मिल्ने मान्यताका बिचमा रहेको समाजवादी मोर्चा बनाउन लागिएको बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता भएका राजनीतिक दलहरुका बीचमा मोर्चा बन्न लागेको बताए । देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको उनको भनाई छ ।

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले देशलाई स्थिर रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बीचमा एकता आवश्यक भएकाले मोर्चा बनाउन लागिएको बताए । उनले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्ने उद्देश्य रहेको भन्दै मोर्चा त्यसैको पहिलो खुड्किलो भएको बताए ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बार्गेनिङका लागी समाजवादी मोर्चा बन्न लागेको बताएको छ । एमाले नेता रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाएको दाबी गरे । एमालेका युवा नेता ठाकुरप्रसाद गैरेले समाजवादी मोर्चा नफल्ने खेती भएको टिप्पणी गर्छन । समाजलाई अगाडी बढाउन कुनै ठोस कार्यक्रम र योजना नहुनेहरुको मोर्चाले केही काम गर्न नसक्ने उनको भनाई छ ।

विभिन्न चार दल मिलेर निर्माण गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी भएको छ । मोर्चाका लागि प्रतिबद्धतापत्रको मस्यौदा निर्माण भइरहेको छ । मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ । मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जनता समाजवादी, #नेकपा एकीकृत समाजवादी, #नेकपा माओवादी केन्द्र, #समाजवादी मोर्चा

तपाईको कमेन्ट लेख्नुहोस्