Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

विरोध प्रदर्शन गर्न नदिएको भन्दै काठमाडौँ महानगर मेयर बालेनविरुद्ध आन्दोलन


काठमाडौँ । काठमाडौँ महानगरले शान्तिवाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरू महानगरविरुद्ध आन्दोलित भएका छन्।शान्ति वाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरूको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् ।

गत सोमवार काठमाडौँ महानगरले शान्तिवाटिकामा धर्नारत पीडितलाई हटाएसँगै पीडितहरू महानगरविरुद्ध आन्दोलित भएका हुन्। बिहीवार शान्तिवाटिकामा पीडितहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई महानगरले ज्यादती गरेको बताएका छन्।

शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरूको भनाइ छ। उनीहरूले शान्तिवाटिकामा आफूहरूको धर्ना जारी रहने पनि बताएका छन् ।

२३८ दिनदेखि आरति साहको न्यायका लागि भन्दै धर्नामा बसेका आरति साहका दाजु प्रेम साहले आफूहरू हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौंका मेयर बालेनबाट पनि पीडित भएको बताए । उनले मेयर साहले गरिबहरूमाथि दमन र अत्याचार गरेको बताए ।

उनले शान्तिवाटिका मेयर साह र काठमाडौं महानगरको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानाशाही व्यवहार देखाएको बताए। उनले मेयर साहलाई हिटलर नबन्न आग्रह गरे । त्यसैगरी मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमवार धर्नारत महिला तथा बालबालिकालाई नगर प्रहरीले जबरजस्ती शान्तिवाटिकाबाट निकालेर ज्यादती गरेको बताइन् ।

त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरत गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको बताइन्। उनले आफूमाथि राज्यले आतंक मचाएको बताइन्। उनले प्रमाण हुँदाहुँदै पनि भुवन गिरीलाई न्यायालयले संरक्षण गरिरहेको दावी गरिन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौ महानगर, #पीडितहरू, #विरोध प्रदर्शन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं