Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

आरतीको परिवार र सरकारबीच ५ बुँदे सहमति, अनुसन्धानमा सीआईबी खटिने (भिडियोसहित)


काठमाडौं । लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउने सहमति भएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । त्यसक्रममा अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको मन्त्रालयले जनाएको छ ।

अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको छ । जसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएको कमी कमजोरीहरुका बारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको छ ।

नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लेखित विषय समेतलाई अध्ययन गर्ने भनिएको छ । त्यसबाट प्राप्त प्रमाणका आधारमा कानून अनुसार पुनः अभियोजन समेत गर्ने भनिएको छ ।

साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने समेत भनिएको छ । योसँगै परिवारका तर्फबाट भएका आन्दोलनका कार्यक्रम रोकिने भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

जनकपुरधारस्थित काव्या अस्पतालमा पुर्‍याएपछि परिवारले आरतीले आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले शव नियन्त्रणमा लिएर जाँच थालेको थियो । घटना हुनुभन्दा दुई वर्षअघि मोतीबाबु साहसँग उनको विवाह भएको थियो ।

माइतीपक्षको दाबी अनुसार, विवाहमा दाइजोसहित उनीहरुलाई २५ लाख रुपैयाँ दिइएको थियो । तर, मत्यु हुनुअघिका महिनाहरुमा दाइजो कम भएको भन्दै आरतीलाई घरमा यातना दिइने गरेको माइती पक्षको आरोप थियो ।




क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #पाँच बुँदे सहमति

तपाईको कमेन्ट लेख्नुहोस्