Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

पक्राउ परेको ५ दिनमै छुटे पूर्वसभामुख कृष्णबहादुर महरा


काठमाडौं । भेपमार्फत सुन तस्करी भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा ५ दिनमै रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतले गरेको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतमा छाड्न स्वीकृति दिइएको हो ।

अदालतले पनि स्वास्थ्यलाई कारण देखाउँदै उपचार गराउन आदेश दिएको छ । प्रहरीले महरालाई चैत ५ मा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले चैत १ मा बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सीआईबीले उन्मुक्ति दिएका महरालाई मुद्दा चलाउन १० वटा आधार रहेको प्रतिवेदनमा उल्लेख थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रहरीको सीआईबीको नयाँ टोलीले जाँच थालेको थियो । त्यस क्रममा निगरानीमा रहेका महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए । तर, ५ चैतमा आफूहरुलाई छाडेर महरा अर्कै गाडीमा गएको भन्दै उनका निजी सुरक्षा अधिकृतले प्रहरी हेडक्वार्टरमा खबर गरेका थिए ।

महरालाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि अनुमति लिन उनलाई सीआईबीले अदालत उपस्थित गराएर ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । महराको बयान लगायतको अनुसन्धान कार्य गर्नुपर्ने भएको भन्दै उनलाई हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले उनको स्वास्थ्य स्थितिलाई देखाउँदै आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको थियो ।

महराले आफूलाई टिबी, युरिक एसिड र प्रोस्टेटको विरामी भएकाले नियमित औषधि सेवन गरिरहेको जिकिर गरेका थिए । यसपछि महरा नर्भिक अस्पताल भर्ना भएका थिए भने उनको सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो । बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिन वाङलाई फलफूल व्यवसायीका रुपमा मात्र चिनेको दाबी गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर महरा, #पूर्वसभामुख

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं