Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

धनी मन्त्रीहरुसँग उपहार र दाइजोका सुनचाँदी, श्रीमतीका नाममा करोडौंको सम्पत्ति !


काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकार गठन भएको १६ महिनामा १८ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पहिलो पटक मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो । मन्त्रीहरुको सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, शेयर, गाडी र अन्य जायजेथाको विवरण छन् । धेरैजसो मन्त्रीहरुले सम्पत्ति स्वआर्जन नभई पैतृक भएको दाबी गरेका छन् । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन् । सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् । यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ ।

विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ । यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।

यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् । श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ । यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् ।

परिश्रमिकबाट हरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेकी हुन् ।आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् ।उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् ।

सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्तिजनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ । यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ बिघा, ३ कट्ठा जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्ठा जग्गा रहेको छ ।

यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्ठा जग्गा रहेको छ । यस्तै नगद तर्फ २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको शेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ ।

यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कट्ठा जग्गा रहेको छ ।सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँमा दुई वटा घर, थप जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ ।उनको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने यसबाहेक श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर रहेको छ ।

यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौँ महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै मन्त्री बुढाको नाममा १५ लाख बैंक ब्यालेन्स रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् । यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाएका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा घर रहेको उल्लेख गरेकी छन् । ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा बसेको उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनिसँग सुन तथा चाँदीका गहना पनि रहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गाडी, #मन्त्रिपरिषद् सदस्यहरू, #शेयर, #सरकार गठन, #सुनचाँदी

तपाईको कमेन्ट लेख्नुहोस्