Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सत्ता समिकरणमा एमाले–कांग्रेसको होला त यात्रा ? सरकार भन्छ अफवाह फैलाइयो


काठमाडौं । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण हुने कुराले आजनीतिमा हलचल मच्चाइदिएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाटले राजनीतिमा तरंग ल्याएको छ । देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खवर आइरहदा नेताहरु भने तत्काल सरकार नफेरिने दाबी गरेका छन् ।

शनिबार सुटुक्क पत्नी डा. आरजु राणा देउवालाई लिएर कांगेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे । जहाँ झण्डै ओलीसँग तीन घण्टा छलफल गरेर सभापति देउवा बाहिरिएका थिए । संवादका क्रममा देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खवर बाहिरियो । जस्ले राजीतिमा फेरी सरकार फेरबदलको चर्चा सुरु भएको छ । पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिलेर सरकार बनाउनु पर्ने कतिपय नेताहरुलाई बल पुग्ने गरी खबर बाहिरिएका छन् । जसले राजनीतिमा खैलाबैला नै मच्चाइदिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताइएको छ । यद्यपि एमाले–कांग्रेस सरकार बन्न–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको भनाई छ । देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् । यो बिषयमा एमाले र कांग्रेसका शीर्ष नेताहरूले बालकोट भेटबारे धेरै खुलेर बताएका छैनन् ।

सोमबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा नेताहरूले देउवासँग एमाले अध्यक्षसँग भएको भेटबारे सोधीखोजी गरेका थिए । सुरुमा देउवाले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे मात्र छलफल भएको बताएका थिए । तर, बैठकको अन्त्यमा पनि केही संकेत गरे । कांग्रेस–माओवादी गठबन्धन भएको बेला आफूले एमाले अध्यक्ष ओलीसँग किन दुरी राखेको भनेर स्पष्टीकरण दिए । तर, अहिले प्रधानमन्त्री प्रचण्डले नै धोका दिएकाले अब आफूलाई पनि ओलीसँग सम्वाद अगाडि बढाउन आफूलाई समस्या नभएको बताएका थिए ।

देउवा र ओलीको सम्वाद त्यतिमा मात्र सीमित छैन । देउवाले औपचारिक रूपमै आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेका छन्, त्यसमा एमाले अध्यक्ष ओली पनि सकारात्मक भएको बताइएको छ । शनिबार ओलीले देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका हुन । कांग्रेसको यो प्रस्तावपछि आज पनि प्रधानमन्त्री प्रचण्ड र ओलीले वान टू वान तीन घण्टा लामो छलफल गरेका थिए । आइतबार पनि ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरे । सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गरिन् । नेताहरु खुलेरै नबोलेपनि कांग्रेस एमालेबीच कुनै न कुनै एउटा समझदारी भएको भने नेताहरुले अनौपचारिक रुपमा बताइरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेस सभापति शेरबहादुर, #नयाँ सत्ता समीकरण

तपाईको कमेन्ट लेख्नुहोस्