संसदमा विषयकेन्द्रित सवाल–जवाफ छाडेर आक्रोश र कुण्ठा पोख्दै नेताहरु !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच संसद्मै भनाभन भएको छ । सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा दुई जना नेताबीच भनाभन भएको हो । जहाँ सभामुख देवराज घिमिरेले पुनलाई बस्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई बिषयमा केन्द्रीत हुन ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच संसद्मै भनाभन चल्यो ।
प्रधानमन्त्री भएपछि ओली पहिलो पटक सांसदका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागि भएका थिए । जहाँ ओलीले कांग्रेस उपसभापति धनराज गुरुङले सोधेको प्रश्नको जवाफ नदिई माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शुन्य समयमा उठाएका प्रश्नको जवाफ दिन थाले । आइतबारको संसद् बैठकमा विद्युत् लाइन काटिएकोबारे आफू बोलेको विषयमा सांसद दाहालले लगाएको आरोपको खण्डन गरिसकेर प्रधानमन्त्री ओली सांसदहरूलाई सदनको मर्यादा स्मरण गराइरहेका थिए ।
प्रधानमन्त्री ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाए । प्रधानमन्त्रीले झुट बोलेको दाबी सांसद दाहालले गरेपछि प्रधानमन्त्री ओली रिसाएका थिए । प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह मात्रै गरेनन् उनले कहिले सुन र पित्तलको कुरा गरेको र कहिले झुटा लाञ्छना लगाउने कुरामा सांसदहरूलाई जबाफदेही बन्न सुझाव दिए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आपत्ति जनाए ।
बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गर्दै विद्युत महसुललगायतका विषयमा केन्द्रित भएर बोल्न थालेपछि उपमहासचिव पुन आसनबाट उठेर नियमापत्ति जनाएका थिए । पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गरे । । त्यसपछि सभामुख घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको जवाफ फर्काएका थिए ।
यो सवाल जवाफ चलेपछि मात्रै संसदमा सांसद धनराज गुरुङले गरेको प्रश्नको उत्तर दिन प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको तर, नेपालले भोग गर्न नपाएको भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सहकारी बचत हिनामिना तथा अपचलनमा ५९ हजार ५८७ मागदाबी निवेदन प्राप्त भएको बताए । उनले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने प्रष्ट पारे । कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपबारे जवाफ दिँदै उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताए ।
संसद बैठकपछि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरुलाई २२ अर्ब राजश्व छुट दिन लागेको आरोप लगाएका छन् । सांसद दाहालले प्रधानमन्त्री ओलीले विचौलियाको दबाब र प्रभावमा परेर विद्युत जोड्न आदेश दिएको भन्दै विद्युत प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपमहासचिव वर्षमान पुन, #प्रधानमन्त्री केपी शर्मा, #संसद्मै भनाभन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्