Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

माओवादीमा सुल्झिएन विवाद,जनार्दन शर्मालाई पेलेरै जाने रणनिति !


काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको विवाद अझै सुल्झिएको छैन् । पार्टी सुदृढीकरण गर्ने भन्दै उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पद छोड्नुपर्ने प्रस्ताव अघि सारेका थिए । सो प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने बताइएपनि पछिल्लो नेता तथा कार्यकर्तालाई गरेको सर्कुलरले भने जनार्दन शर्मालाई पेलेरै जाने रणनिति नेताहरुले बनाएका छन् ।

भदौं एक गते रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए अव पार्टीमा कुनै कलह छैन् । तर, उपमहासचिव जनार्दन शर्मा एउटै मञ्चबाट भनेका थिए प्रचण्डकै वरिवरि रहेकाहरुले जनार्दनले पार्टी फुटाएर एमालेमा जाँदैछ भन्ने हल्ला फिजाए । बारम्बार नेतृत्व वरिपरिकै ब्यक्तीले हल्ला फैलाइयो भनेपनि प्रचण्डको सचिवालयका कसले त्यो हल्ला फैलाइयो भन्ने अझै बाहिर आएको छैन् । कुरा मिल्यो, सहमति भयो भन्दै बाहिर जति भाषण गरेपनि दुबै नेताहरुबीचको टकराव अन्त्य भएको छैन् भन्ने प्रष्टै छ । किनकि उपमहासचिव शर्माले आफू अन्यायमा परेको खुलेरै बोलिरहेका छन् ।

प्रचण्ड भने जनार्दन शर्माले उठाएको कुरा भित्रभित्रै सामसुम पार्न खोजिरहेका छन् । स्थायी कमिटि बैठकमा कुरा राख्न दिएको र एजेण्डा केन्द्रीय समिति बैठकमा पनि पेश गर्ने र भित्री कुरा केही पनि बाहिर आउन नदिने सोच प्रचण्डको छ । सचिवालयको को ब्यक्तीले हल्ला ग¥यो त्यो पत्ता लगायौं अव आवश्यक हल्ला नगरौं भन्ने प्रचण्डको बोली छ । हिजो प्रचण्डको रक्षाका लागि उनैको साथमा रहेका जनार्दन शर्मा किन रिसाइरहेका छन् भन्ने सवाल पनि उठेकै छ ।

दुई सय बर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ भन्ने प्रश्न उपमहासचिव शर्माको छ । तर, दुई दिनपछि फेरि बिषयबस्तु सामसुम पार्न खोजेपनि पार्टीभित्र जनार्दनलाई एक्लै बनाउने गरी नेताहरु अघि बढेको पार्टीका नेता कार्यकर्तालाई दिएको सर्कुलरबाट प्रष्टै हुन्छ ।

माओवादी केन्द्रले पार्टी बैठकमा अभिव्यक्त भएका भनाईहरू सञ्चार माध्यमहरूमा सार्वजनिक हुँदा पार्टीलाई गम्भीर क्षति हुने भन्दै नेता कार्यकर्तालाई सचेत गराएको छ । स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा पार्टी कमिटीमा अन्तर–जनवादको पूर्ण स्वतन्त्रता हुने भएपनि भित्रका हरेक कुरा सार्वजनिकीकरण गर्नु पार्टीको सामान्य मूल्य–मान्यताको समेत गम्भीर उल्लंघन हुन जाने उल्लेख छ ।

बैठकमा उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डको चर्को आलोचना गर्दै नेतृत्व हस्तान्तरण गर्न लिखितरूपमै प्रस्ताव अघि सारेका थिए । त्यसले माओवादी वृत्तमा ल्याएको तरंग अझै साम्य भएको छैन । आगामी दिनमा त्यस्ता कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन आग्रह गर्नुले माओवादीभित्रको विवाद सल्टेको छैन् भन्ने प्रष्टै हुन्छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपमहासचिव जनार्दन शर्मा, #पुष्पकमल दाहाल प्रचण्ड, #माओवादी केन्द्रभित्रको विवाद

तपाईको कमेन्ट लेख्नुहोस्