Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

माओवादी केन्द्र निकट विद्यार्थी संगठनमा भाँडभैलो, सम्मेलनमै हात हालाहालदेखि स्थगनसम्म !


काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)भित्रको विवाद भुसको आगो झैं सल्किएर अधिबेशन नै स्थगित भयो । विद्यार्थीहरुको हकहितका लागि लड्ने दाबी गर्ने विद्यार्थी नेताहरु अहिले पद र प्रतिष्ठाका लागि बाझाबाझ गरे । काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा जारी २३ औं राष्ट्रिय सम्मेलनमा उनीहरुबीच हातपात नै भयो ।

उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादका कारण उनीहरु आपसमा मिल्न सकेका छैनन् । त्यसकै लागि उनीहरु सम्मेलन नै स्थगित गरेर नेताका घरघरमा धाइरहेका छन् । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहका दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको ध्यान तान्ने एक वाक्य बोले । ‘

आफू प्रतिनिधि सभाको सिंह भएको र विद्यार्थी नेताहरु सडकको बाघ भएको’ भन्दै प्रचण्डले आफ्नै बखान गरे । त्यतिबेला उनको भाषण सुनिरहेका विद्यार्थी नेताहरुले निकै ठूलो स्वरमा होहल्ला गर्दै ताली बजाए । त्यसको केही दिनपछि सम्मेलन जारी रहेको त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थी नेताहरुबीच लफडा नै भयो । उनीहरुले आपसमा को बढी शक्तिशाली भन्ने सन्देश दिन शक्ति प्रदर्शनको अभ्यास नै गरे ।

सम्मेलनबाट योग्य र सक्षम विद्यार्थी नेतृत्व चयन गर्नेभन्दा पनि उनीहरु आपसमा यसरी भिडिरहेका छन् कि कुनै युद्ध नै जित्नुपर्ने थियो । विद्यार्थी संगठनभित्र यस्तो विवाद देखिन थालेपछि माओवादी केन्द्रका नेताहरु दिनहुँजसो खुमलटारमा जम्मा हुने गरेका छन् । तर अहिलेसम्म पनि परिणाम शून्य नै छ । अचम्मलाग्दो कुरा त के छ भने विद्यार्थी संगठनभित्र नै गुट हावी भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुट, उपमहासचिव जनार्दन शर्मा गुट र अर्का उपमहासचिव वर्षमान पुन गुट हावी भइरहेका छन् । यसले विद्यार्थी संगठनलाई नै संकटको भुमरीमा पु¥याएको छ । पार्टी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले विवाद मिलाउन मध्यमार्गी भूमिका खेलेपनि समस्या जिउका तिउ नै छ । अखिल क्रान्तिकारीका नेताहरुले उमेर हद लगाउने कि नलगाउने भन्ने विषय मतदानबाट टुंगो लगाउने र त्यसपछि नेतृत्व चयनका लागि मतदान गर्ने समझदारी भएपनि केही पदाधिकारीहरु नै उमेर हद लगाउने कुरामा सहमत हुन नसकेपछि सम्मेलनको बन्दसत्र प्रभावित हुँदै आएको छ ।

विद्यार्थीका हकहितका लागि आवाज उठाउने सिद्धान्त बोकेर हिँडेका विद्यार्थी नेताहरुको व्यवहार गुण्डागर्दीको जस्तो देखिनु बिडम्बनाको विषय हो । त्यसमा पनि जिम्मेवार पार्टीको विद्यार्थी संगठनका यस्ता हर्कतले मुलुकको विद्यार्थी नेतृत्वको शैली कति जायज छ भन्ने विषयको उजागर गरेको छ । बेलैमा सुध्रिएनन् भने त्यसले दिने परिणाम निकै घातक हुने निश्चित छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अनेरास्ववियु (क्रान्तिकारी), #नेताहरु अहिले पद र प्रतिष्ठा, #विवाद भुसको आगो

तपाईको कमेन्ट लेख्नुहोस्