Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

सर्यो रास्वपाको पोखरा आन्दोलन,रवि छुटाउन अव माइतीघरमा आन्दोलन !


काठमाडौं । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।

विहिबार सोही प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । असोज ६ मा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् । गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । सोही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु अर्थात जीबी राई भने फरार छन् । गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका थिए । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीले २ सेल अश्रुग्यास पनि प्रहार गरेको थियो ।

रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भएका हुन् । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोकेको थियो । पार्टी कार्यकर्ता र समर्थकले सरकारबिरुद्ध बिहिबारर पनि चर्को नारावाजी गरेका थिए ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ । रास्वपाले पोखरामा गर्दै आएको आन्दोलन अव काठमाडौंको माइतीघरमा गर्ने जनाएको छ ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ । रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा समेत उल्लेख छ । सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।


क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ट्याग : #माइतीघरमा आन्दोलन, #रास्वपाको पोखरा आन्दोलन, #सूर्यदर्शन सहकारी

तपाईको कमेन्ट लेख्नुहोस्