एक्लियो रास्वपाः रवि लामिछानेको मुद्धामा अन्य प्रतिपक्षले दिएनन् साथ
काठमाडौं । प्रतिपक्ष दलहरु एक ठाउँमा उभिएर सरकारलाई दवाव दिन मोर्चाबन्दी गरिरहेका छन् । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिपक्ष दल र बाहिर समाजवादी मोर्चाबाट सरकारलाई गलाउने रणनिति लिइरहेका छन् । प्रतिपक्ष दलकै कित्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने सभापति रवि लामिछानेको मुद्धा जोडदार उठाउन खोजिरहेको छ । तर, लामिछानेको मुद्धामा अन्य प्रतिपक्ष दलले साथ दिएका छैनन् ।
रविको प्रस्तावमाथि अन्य प्रतिपक्ष मौन बस्दा रास्वपा एक्लिएको छ । सरकार केही समयमै ढल्दैछ भन्दै हिडिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिपक्ष एक ठाउँमा जम्मा गरेर शक्ति देखाउने योजना संसदको हिउँदे अधिवेशन अघि पूरा भयो । संसदमा प्रतिपक्षहरुको साथ र बाहिर समाजावादी मोर्चाबाट बलियो नेता बन्ने दाउ प्रचण्डको सधैं रहन्छ ।
सरकारले अध्यादेश ल्याएपछि प्रतिपक्ष दलहरु एकै ठाउँमा उभिए । उनीहरुले सरकारलाई दवाव दिन अध्यादेशको विरोध गर्ने निर्णय नै गरेका थिए । तर, सरकारले अध्यादेश फाष्ट ट्रयक्कबाट पारित गर्ने भन्दै संसदमा पेश गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यादेश भन्दा पनि प्रतिपक्ष दलको साथ लिएर आफ्नो बलियो उपस्थिति देखाउने ध्याउन्नमा थियो ।
सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको अडान लिदैं आएको रास्वपाले प्रतिपक्ष दलको बैठकमा रविलाई भएको अन्यायबारे सबैले साथ दिन प्रस्ताव नै गरेको थियो । तर, प्रतिपक्ष दल अझ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रास्वपाको प्रस्ताव ठाडै अस्वीकार गरिदिए । जसका कारण अध्यादेशसँगै रविको बिषय पनि उठाउन खोजेको रास्वपालाई धक्का लाग्यो । सहकारीको रकम ठगीको आरोपमा पोखराबाट ६५ लाख, काठमाडौंबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका रवि लामिछानेलाई रास्वपाले अन्याय भएको दाबी गर्दै आएको छ ।
प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले आह्वान गर्ने बैठकमा सरकारबिरुद्ध मोर्चाबन्दी गर्न पुगेको रास्वपा संसदमा पनि एक्लै प¥यो । हिउँदे अधिवेशनको पहिलो बैठकमै सभामुख देवराज घिमिरेसँग बोल्ने समय पाउ भन्दै संसदमा विरोधमा उत्रिएको रास्वपालाई अरु दलले साथ दिएनन् । सभामुख घिमिरेले आदेश दिदा समेत रास्वपा सांसदले बिरोध गरिरहे । रास्वपा सांसदहरुलाई लागेको थियो आफनो बिरोधमा अन्य प्रतिपक्ष दलले पनि साथ दिने छन् । तर, रास्वपाको त्यो बिरोधमा अन्य दलहरु मौन रहे । जसले रास्वपा १५ मिनेट बहिष्कार भन्दै संसद बैठकबाटै बाहिरियो ।
तीन वटा अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछानेलाई संसद प्रवेश गर्न दिन माग सहित रास्वपाले सभामुख घिमिरेलाई निवेदन समेत दियो । तर, सभामुखले अदालतमा मुद्धा बिचाराधिन छ नी भन्दै प्रश्न गरेपछि दलबल सहित सिंहदरबार पुगेका नेताहरु बाहिरिएका थिए । एकातिर सभामुखले निवेदनमाथि कुनै प्रक्रिया नबढाउनु अनि सरकारको बिरुद्धमा एक ठाउँमा उभिएका प्रतिपक्ष दल रास्वपाको प्रस्तावको वेवास्ता गर्नुले एक्लिएको देखिन्छ । संसदमा पनि रविको मुद्धाको बिषयमा रास्वपा बाहेक अरु कुनै दलले पनि बोलिदिएन । बरु, १५ मिनेट संसद बैठक बहिष्कार गरेको रास्वपालाई कांग्रेसले कच्चा खेलाडीको संज्ञा दियो ।
सबै प्रतिपक्ष दलको साथ लिएर संसदमै सभापति रवि लामिछानेको मुद्धा जोडतोडका साथ उठाएर पकड बनाउन खोजेको रास्वपालाई संसदमै धक्का लागेको छ । सबै भ्रष्टाचारका फाइल खोल्न समितिको माग गर्छौ भन्ने चेतावनी दिन खोजेको रास्वपा सभापति रवि लामिछानेको बिषय उठाउन चुक्यो नै । साथ दिन्छौं भन्ने दल समेत मौन बस्दा उसको एजेण्डा नै कमजोर भएको छ । उसले अवको संसद बैठकमा आफ्नो एजेण्डा राख्न कसरी प्रस्तुत हुन्छ त्यो भने हेर्न बाँकी छ । रवि लामिछानेको बिषयमा अन्य प्रतिपक्ष दलले भने साथ दिने अवस्था नै देखिदैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक्लियो रास्वपा, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रमुख प्रतिपक्ष
तपाईको कमेन्ट लेख्नुहोस्