रवि र छविले जिवी राईलाई नै दिए दोष, साहारा सहकारीमा ५२ करोड बढी ठगीको आरोप
![](https://www.khojpatrika.com/wp-content/uploads/2024/11/rabi-adalat-3-kartik.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध उनी प्रतिनिधिसभामा निर्वाचित चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । चितवनमा रविलाई सजिलो हुने गरी मुद्दा दर्ता गरिएको छ ।
रविलाई सहकारी ठगी मात्रै मुद्दा चलाइँदा अरु १२ जनालाई भने सङ्गठित अपराध कसुर पनि लगाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि असोज ८ गते दर्ता गरेको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यसबेला रविको नाम किटान गरिएको थिएन ।
मंगलबार दर्ता भएको मुद्दामा रविसहित १५ जना प्रतिवादी छन् । त्यसैगरी गितेन्द्रबाबु राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालि र साहरा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ । सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट जम्मा २ करोड २५ लाख धरौटी बुझाएर छुटेका थिए । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले गत पुस २५ गते ६५ लाख धरौटी तिरेका थिए ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले माघ २ गते ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए । रुपन्देहीको सुप्रिम सहकारी संस्थाको बचत रकम ठगीमा रविले माघ १३ गते १ करोड धरौटी बुझाएका थिए । लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको थियो ।
कास्की, काठमाडौं, रुपन्देही जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा लामिछाने निर्दोष भएको नदेखिएकाले धरौटी मागेका थिए । कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगेको आरोप लामिछानेसहितलाई लागेको थियो । यी सबै सहकारीका मुख्य सञ्चालक हाल फरार रहेका जीबी राई हुन् । साझेदारमा छविलाल जोशी, रवि र कुमार रम्तेललगायत हुन् ।
कुमार रम्तेल अहिले कास्की जेलमा छन् । नेचर हब्र्स जीबी र छविको संयुक्त लगानीको कम्पनी थियो । अब रविसहितविरुद्ध पर्सास्थित हाम्रो सानोपाइला सहकारी संस्थाको बचत रकम ठगीमा मुद्दा चल्न बाँकी छ । सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कहाँ बुझाइसकेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ठगीसम्बन्धी मुद्दा दर्ता, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #सहारा चितवन बहुउद्देश्यीय
तपाईको कमेन्ट लेख्नुहोस्