Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

अध्यादेश फिर्ता लिन कांग्रेसको आग्रह, सामाजिक सञ्जालमा कालो झण्डा


काठमाडौं ९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता लिन माग गरेको छ । मंगलबार सभापति निवास बालुवाटारमा बसेको पदाधिकारीको बैठकले कोरोनाको त्रासमा रहेका जनतालाई राहात दिन छोडेर ल्याइएको अध्यादेश फिर्ता लिन माग गरेको हो । कांग्रेसले सबै दल एक भएर कोरोना भाइरस बिरुद्ध लड्ने बेला सरकारले गलत नियतका साथ दुई अध्यादेश ल्याएको भन्दै आपत्ती जनाएको हो । सरकारले हचुवाको भरमा अध्यादेश ल्याएर अस्थिरता मच्चाउन खोजेको निष्कर्ष निकाल्दै कांग्रेसले तत्काल अध्यादेश फिर्ता लिन माग गरेको छ । सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश सोमबार ल्याएको थियो । दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । तर, कांग्रेसले सरकारले गरेको निर्णय तत्काल सच्याउन चेतावनी दिएको छ । काँग्रेसले सरकारको निर्णयको प्रतिवाद गर्न सामाजिक सञ्जालको प्रयोग गर्ने जनाएको छ । भातृसंगठनलाई नै परिचालन गरी लकडाउनका कारण सरकारविरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने निर्णय पनि गरेको छ ।

लकडाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुर्भाग्य भएको कांग्रेसको ठहर छ । कांग्रेसले एक महिनादेखि घरभित्रै कष्टकर जीवन विताइरहेका जनता, जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुबै अध्यादेशले के दिन्छ भन्दै सरकालाई प्रश्न गरेको छ । संवैधानिक निर्णयहरु साझा स्वामित्वबोध हुने र राष्ट्रिय जीवनलाई सहजता प्रदान गर्नेगरी हुनुपर्नेमा बहुमतको दम्भमा भएको निर्णय फिर्ता लिनुपर्ने बताएको छ । सरकारको कामकारवाहीमा सधैं खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष कांग्रेस सुस्ताएको आरोप लागिरहदा अध्यादेशका बिरुद्ध पाटीभित्रको बिबाद थाति राखेर पदाधिकारी बैठकमा नेताहरु एक मत देखिएका हुन् । तर, सरकारले अध्यादेश फिर्ता नलिए के गर्ने भन्ने कांग्रेस पदाधिकारी बैठकले प्रष्ट पारेको छैन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस

तपाईको कमेन्ट लेख्नुहोस्