एकै दिन ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो
काठमाडौं २९ बैशाख । नेपालमा सोमबार एकै दिन ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । कपिलवस्तुमा १० जना र सप्तरीमा १ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सवै युवा हुन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु प्रशासनले साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ ५ गतेसम्म जिल्लालाई सिल गर्ने निर्णय गरिएको बताएको हो । अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन् । नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिला गरी १२१ जनामा कोरोना संक्रमण पाइएको छ । प्रदेश ५ मा सबैभन्दा बढी ४० जना, प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ जना कोरोना संक्रमित पहिचान भएका छन् । यस्तै, बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिदा गण्डकी प्रदेशमा २, सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेश अहिलेसम्म कोरोना संक्रमणमुक्त छ । देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत छन् । सोमबार कोसी अस्पताल विराटनगरमा उपचाररत २ जना संक्रमित डिस्चार्ज भएसँगै उपचारपछि निको हुनेको संख्य ३३ पुगेको छ । त्यस्तै, नेपालमा कोरोना परिक्षण निक्कै कम भएको गुनासो बढीरहदा पछिल्लो केही दिनदेखी भने परिक्षणको दायरा बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ । पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको जानकारी दिए । र्यापिट किटको परिक्षणलाई तिब्रता दिइएपनि पीसीआर परिक्षण सुस्त भएको गुनासो जनस्तरमा मात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले गर्दै आएका थिए । नेपालमा गत शुक्रबार स्वीटजरल्याण्ड सरकारले सहयोग दिएको ३० हजार थान पीसीआर किट आएपछि परिक्षणको दायरा बढाइएको मन्त्रालयले जनाएको छ । विदेशबाट फर्किएका नेपाली, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति र जोखिम क्षेत्रमा रहेका व्यक्तिको स्वाब पछिल्लो समय पीसीआर परीक्षण मार्फत नै गर्ने गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
तपाईको कमेन्ट लेख्नुहोस्