Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

बामदेव गौतम राष्ट्रियसभामा,नेकपा सचिवालयका ९ जना नै संघीय संसदमा


काठमाडौं । अन्तत् नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभाको सदस्य बन्ने पक्का भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले उपध्याक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका थिए । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको जानकारी दिए ।

यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । तर, सचिवालय बैठकमा प्रधानमन्त्रीले नै गौतमको नाम सिफारिस गरेका हुन् । गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । सोही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उहाँको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो । तर, प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेर पार्टीभित्र विवाद समेत चर्किएको थियो ।

विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएर अहिलेसम्म कसैको मनोनयन भएको थिएन । यो सँगै नेकपा सचिवालयका ९ जना सदस्य नै संघीय संसदमा प्रबेश पाएका छन् ।

यस्तै,सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनबारे पनि छलफल भएको थियो । बैठकले ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ । सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि थप सशक्त भएर लाग्न सरकारलाई सुझाव समेत दिएको छ । बाग्लुङमा पहिरोबाट प्रभावित ब्यक्तीहरुलाई राहात तथा उद्धार गर्न समेत सरकारलाई बैठकले आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी ओली, #बामदेव गौतम

तपाईको कमेन्ट लेख्नुहोस्