Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

के नेकपाको विवाद मिलेकै हो त ? कार्यदलको प्रतिबेदन अव स्थायी कमिटिमा


काठमाडौं । पछिल्लो आधा वर्ष तीब्र विवादै विवादकाबीच गुज्र्रिएको सत्तारुढ दल नेकपाले अझै पनि सहमतिको विन्दु भेट्न सकेको छैन । पछिल्ला दिनमा विवाद समाधानउन्मुख देखिए पनि ठोस सहमति भने भएको छैन् । मन्त्रीपरिषद् हेरफेर तथा मुख्यमन्त्री परिवर्तनसम्मका एजेण्डा बहसमा भएपनि त्यसबारे नेकपा निष्कर्षमा पुग्न सकेको छैन । विवाद साम्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव सचिवालय बैठकमा लगेपनि मन्त्रिपरिषदबाट भने सिफारिस गरेका छैनन् । सत्तारुढ दल नेकपाभित्र केही महिनायताको चर्को विवाद साम्य हुन खोजेको जस्तो देखिन्छ । तर, अझै पनि विवाद समाधानको विन्दुमा भने पुगिसकेको छैन ।

यतिबेला उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनितका लागि पार्टीले सिफारिस गरिसकेको छ । तर मन्त्रीपरिषदले राष्ट्रपतिसमक्ष भने सिफारिस गरिसकेको छैन । शुक्रबार मन्त्रीपरिषद बैठक बसे पनि गौतमको नाम सिफारिसको प्राथमिकतामा परेन । जबकी अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । तत्काल अर्को व्यक्तिलाई अर्थमन्त्री बनाउनुपर्ने छ । तर, प्रधानमन्त्री केपी ओलीले खतिवडाले सम्हाल्दै आएको अर्थ र सुचना संचार तथा प्रविधि मन्त्रालयसमेत आफैँ मातहत ल्याएका छन् । यतिबेला राष्ट्रिय सभामा सिफारिस हुन लागेका गौतममाथि नै प्रश्न उठेको छ ।

विवाद समाधानका लागि बनेको कार्यदलले ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिने भनि प्रतिवेदन पेश गरेको थियो । साथै प्रतिवेदनमा भागबण्डा मिलाउनका लागि मन्त्रीमण्डल र केही मुख्यमन्त्री हेरफेर गर्ने सुझाब पनि समेटिएको छ । तर उक्त प्रतिवेदनबारे राम्रोसँग छलफल नै भएको छैन । प्रतिवेदनको मर्मविपरित प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरिसकेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताएका थिए ।

ओलीले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न भन्दै मन्त्रीपरिषद् पुनगर्ठन नहुने बताएका हुन् । यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले प्रतिवेदनमा समेटिएका अधिकांश सुझाबप्रति असन्तुष्टी व्यक्त गरिसकेको छ । यि घटना क्रमलाई हेर्दा नेकपाभित्रको विवाद कम भएको जस्तो देखिए पनि समाधानको ठोस विन्दु भेटिएको छैन । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमाथि बरिष्ठ नेता नेपालले अध्यक्ष दाहाललाई दिइएको कार्यकारी अधिकार कति हो भन्ने प्रश्न उठाएका छन् । कार्यदलले अध्यक्षद्वयबीच भएको सहमति अनुसार ओली सरकारको काममा र अर्का अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित हुने गरी भदौ ६ गते अध्यक्षद्वयलाई १६ पन्ने प्रतिवदेन बुझाएको थियो । यही प्रतिवेदनमाथि छलफल गर्न गत विहीबार बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । सोही बैठकमा नेपालले असन्तुष्टी जनाएका हुन् ।

अव कार्यदलको प्रतिबेदन स्थायी कमिटि बैठकमा पेश गर्ने तयारी गरिएको छ । यसअघि सचिवालय सदस्यसमेत रहेका अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिएका थिए । विभिन्न कुरामा असन्तुष्ट यो पक्ष ओलीले सरकार ढाल्न भारत र नेकपाकै नेताहरु सक्रिय भएको अभिव्यक्ति दिएपछि असन्तुष्ट बनेको थियो ।

आफूहरुलाई अनावश्यक आरोप लगाइएको भन्दै ओलीमाथि नैतिक प्रश्न तेस्र्याएर राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । अहिले गौतम भने ओली खेमामा पुगेका छन् । कार्यदलले पनि राजीनामा दिनुनपर्ने गरी मध्यमार्गी सुझाब पेश गरेको छ । तर उक्त सुझाबसहितको प्रतिवेदनमाथि पनि निष्कर्षमा पुग्ने गरी छलफल नहुँदा विवाद कुन दिशातफ जान्छ भन्नेमा अन्योल देखिन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #बामदेव गौतम

तपाईको कमेन्ट लेख्नुहोस्