Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

काठमाडौं उपत्यका केन्द्रीत कोरोना, एकैदिन १ हजार ५९९ जना संक्रमित


काठमाडौं । नेपालमा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौमा उपत्यकामा मात्रै १ हजार ५ सय ९९ जना थपिएका छन् । काठमाडौंका १ हजार ३ सय ७३ जना, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा ८६ हजार ८ सय २३ मा कोरोना संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना निको भएका छन् । यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृतक ४ जना महिला र ३ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

काठमाडौँ उपत्यकाका अस्पतालमा रहेका लक्षण नभएका कोरोना संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज गरिने भएको छ । लक्षण नभएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने जानकारी दिए । यसैगरी काठमाडौँ उपत्यकाको अस्पतालमा लक्षण भएका संक्रमितको भने १० दिनमा पीसीआर परीक्षण गरिने र नेगेटिभ देखिए डिस्चार्ज गरिने पनि प्रवक्ता गौतमले बताए ।

यसैगरी आइतबार देशभर सक्रिय संक्रमित २२ हजार २ सय १९ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् । आइतबार १२ हजार ७ सय ८४ जनाको पीसीआर गरिएको थियो । देशभरका क्वारेन्टिनमा ४ हजार २ सय ३ जना रहेका छन् । संक्रमितमध्ये आइसियुमा २ सय २६ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि, #डिस्चार्ज गरिने, #दशैंका लागि यात्रा

तपाईको कमेन्ट लेख्नुहोस्