Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एकसातामा टुंगिएला त नेकपाको एकता प्रक्रिया


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको बाँकी एकता प्रक्रिया हप्ताभित्रै टुंग्याउने गरी गृहकार्य सुरु गर्ने भनिएको छ । विहिबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव बिष्णु पौडेलबीचको छलफलले गृहकार्य गर्ने सहमति गरेको थियो । तर पार्टीका अन्य शीर्ष नेताहरुले भने तीन जनाबीचको छलफलले भनेजस्तो काम हुनेमा आशंका व्यक्त गरेका छन् । नेकपाका दुई जना अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले विहिबार महासचिव विष्णु पौडेललाई साक्षी राखेर पार्टी एकतासम्बन्धमा अनौपचारिक जस्तो देखिने सहमति गरे । तीन वर्षदेखि पूरा हुन नसकेको पार्टी एकता प्रक्रिया एक हप्ताभित्रै टुङ्ग्याउन गृहकार्य सुरु गर्ने सहमति भएको हो ।

साढे तीन घण्टा बढी चलेको छलफलमा स्थायी कमिटी बैठकको म्याण्डेटअनुसार, एकता प्रक्रिया टुंग्याउन नेताहरु सहमत भएका थिए । पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने स्थायी कमिटी बैठकले निर्णय गरेपछि मस्यौदा तयार पार्न असोज ६ मा बसेको सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई जिम्मा दिएको थियो । सोहीअनुसार विहिबार छलफल गरेर एक हप्ताभित्रै एकता प्रक्रिया टुङ्ग्याउने भनिएपछि पार्टीकै नेताहरुले विश्वास गर्न सकेका छैनन् । सचिवालय सदस्यसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले तीन जनाबीच भएको भनिएको सहमति कार्यान्वयन सम्भव नै नभएको प्रतिक्रिया दिएका छन् ।

नेकपामा गत मंसिरदेखि एकता प्रक्रिया अघि बढ्न सकेको छैन । मंसिर १ गते प्रवास समन्वय कमिटीले आकार पाएको थियो । त्यपछि मंसिर २८ गतेदेखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटीको चौंथो बैठकले शीघ्र एकताका काम सक्न निर्देशन दिएको थियो । त्यस्तै माघ १५ देखि २९ गतेसम्म बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले १५ दिनभित्र एकताको बाँकी काम सक्न निर्देशन दिएको भए पनि अघि बढ्न सकेको थिएन । गत भदौ २६ गते सकिएको स्थायी कमिटीको पाँचौं बैठकले असोज मसान्तभित्र एकताको काम सक्ने निर्णय गरेको थियो । असोज ६ गते बसेको सचिवालयको ६८ औं बैठकले एकताका बाँकी काम सक्न प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिव समेतलाई दिएको थियो ।

नेकपामा जनसंगठनहरू, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, केन्द्रीय लेखा, निर्वाचन, अनुशासन आयोगले नेतृत्व मात्रै पाएको छ । सदस्यहरू मनोनीत हुन बाँकी छ । नीति प्रतिष्ठानमा पनि सदस्यहरू नियुक्त भएको छैन । ३२ वटा विभागले पनि पूर्णता पाउन बाँकी छ । विधानतः केन्द्रीय विभागको संख्या बढीमा ३५ सदस्यीय हुनेछ । प्रवास समन्वय र विशेष जिल्ला कमिटीहरूले पनि पूर्णता पाउन सकेको छैन । विधानतः गठन हुनुपर्ने पोलिट्ब्युरो गठनको प्रक्रिया पनि अघि बढ्न सकेको छैन । अझ स्थायी कमिटी बैठकले पहिले नै टुंग्याइएका जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेकाले हप्ता दिनभित्र निर्णय लिन सजिलो देखिँदैन । एकीकरण प्रक्रियाका कामहरु टुंग्याउँदै चैतमा महाधिवेशन गर्न अझै धेरै कसरत गर्नुपर्नेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #नेपाल कम्युनिस्ट पार्टी

तपाईको कमेन्ट लेख्नुहोस्