Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

किन छल्न चाहन्छन् प्रधानमन्त्री ओली नेकपाका बैठक


काठमाडौं । सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन आग्रह गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय सदस्यको भेलामा सहभागीहरुले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बैठक बोलाएर समस्याको हल गर्न आग्रह गर्ने निर्णय गरेका हुन् । प्रचण्डले बोलाएको सचिवालय बैठकमा ओली पक्षीय सचिवालय सदस्यहरु भने सहभागी थिएनन् ।

प्रचण्डसहित बैठकमा सहभागी ५ जना सचिवालय सदस्यहरुले शनिबार बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन र संकट समाधानमा भूमिका खेल्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । प्रधानमन्त्री ओली, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने बैठकमा सहभागी भएनन् । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई सचिवालय बैठक नडाक्न चेतावनी दिएको समेत खुलासा भएको छ । बैठक डाके त्यही कुरा पार्टी फुटको प्रस्थान बिन्दु हुने चेतावनी ओलीले दिएपछि आफूले अनौपचारिक बैठक बोलाएको दाहालले नेताहरुलाई बताएका थिए ।

बैठकपछि पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आजको बैठक अनौपचारिक भएको र अध्यक्ष ओलीकै सहमतिमा छलफल गरिएको दाबी गरे । ‘पार्टीमा केही समयअघि देखा परेका समस्या सम्बोधन र समाधान गर्न स्थायी कमिटी बैठक बसेको थियो। बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको थियो। विधि र पद्धतिअनुसार संस्थागत ढंगले पार्टी सञ्चालन गर्ने तथा चैतमा एकताको महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो। तर सर्वसम्मतिको उक्त निर्णय कार्यान्वयन प्रक्रियामा समस्या उत्पन्न भएको श्रेष्ठले बताए ।

सचिवालय सदस्यहरुले लिखित र मौखिक रुपमा पनि तत्काल सचिवालय र अन्य निकायको पनि बैठक बसेर आवश्यक निष्कर्ष निकाल्न अध्यक्षहरुलाई अनुरोध गरेको बताउँदै प्रवक्ता श्रेष्ठले राष्ट्रियता, स्वास्थ्य संकट, जनजिवीकाका सवाल, स्थायी कमिटीको निर्णय कार्यान्वयन प्रक्रिया आदिबारे कार्यकारी अध्यक्षले पनि बैठक बोलाउन ओलीसँग आग्रह र प्रयत्न गरेको स्मरण गराए।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा

तपाईको कमेन्ट लेख्नुहोस्