Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

विप्लव नेकपाले छाड्यो हिंसाको राजनीति, सरकारसँग ३ बुँदे सहमति


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ। बालुवाटारमा भएको दुई पक्षबीच वार्ताबाट सहमति भएको हो। सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीका विषय छन् ।

सहमतिमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लवका तर्फबाट वार्ता टोलीका संयोजक खडकबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रबिक्रम चन्द बिप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । यो सँगै प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । सर्वसाधारणको ज्यान लिने गरी भएका विस्फोटलगायतका घटनापछि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो ।

प्रतिवन्धको समयमा सुरक्षाकर्मीको कारबाहीमा केही विप्लव नेता कार्यकर्ताको पनि ज्यान गएको छ भने विप्लव समूहले गराएका केही विस्फोटमा सर्वसाधारण मारिएका थिए । राजधानीका विभिन्न स्थानमा शृंखलाबद्ध बम विस्फोट गराउने प्रयास असफल हुँदा विप्लवकै केही कार्यकर्ता मारिएका थिए । विप्वल समूहलाई प्रतिबन्ध लगाए यता उक्त समूहका २ हजार १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन । तीमध्ये ८५ जनालाई सामान्य सोधपुछ पछि छाडिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध एक हजार ९ सय २७ वटा मुद्धा दर्ता भएका छन । तीमध्ये एक हजार ८ सय ६४ जना साधारण तारेख तथा धरौटीमा छुटेका थिए भने एक सय २३ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रहरीले विप्लव समूहका एकै नेताविरुद्ध विभिन्न जिल्लामा मुद्धा अहिले पनि चलाइरहेको छ । विप्लव समूहका प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शृंखलाबद्ध रुपमा विभिन्न जिल्लामा पु¥याएको थियो । नख्खु बम विस्फोटमा जोडिएका विप्लव समूहका उच्च नेताहरु अहिले पनि मुद्धा पुर्पक्षका लागि कारागार छन । विप्लव समूहका नेता कार्यकर्ता जोडिएका कुनैपनि मुद्धाको फैसला गरिएको छैन । उनिहरुविरुद्ध कर्तव्य ज्यान, विस्फोटक पदार्थ, राज्यविरुद्धको कसुर, संगठित अपराधलगायत मुद्धा दर्ता छन् ।

सरकारले विप्लव समूहसँग वार्ता गर्ने तयारी गरिरहँदा उक्त समूहमाथीको प्रतिबन्ध हटाउने तयारी समेत गरेको छ । गत बैशाख १ गतेयता मात्र बिििभन्न आरोपमा विप्लवका ४ सय ३५ नेता कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये ९ जनालाई सोधपुछपछि छाडिएको र बाँकीविरुद्ध गरि चार सय २५ वटा मुद्धा दर्ता भएको छ । ३ सय ७७ जना जिल्ला अदालतबाट तारेख वा धरौटीमा छुटेको र ३१ जना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरी तथ्यांकले देखाउँछ ।

विप्लव समूहलाई आपराधिक घोषणा गरिएयता काठमाडौँ उपत्यकामा मात्र उक्त समूहका ३७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् भने तीमध्ये ११ जनालाई सोधपुछपछि छाडिएको छ । उनीहरुविरुद्ध कुल तीन सय ४० वटा मुद्धा दर्ता भएकामा तीन सय १६ जना जिल्ला अदालतबाट तारेख वा धरौटीमा छुटेको र २२ जना मुद्धा पुर्पक्षका लागि कारागार चलान भएको जनाइएको छ । अव सबै नेता तथा कार्यकर्ता रिहाई हुने भएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेत्रबिक्रम चन्द, #सरकार र नेत्रविक्रम चन्द

तपाईको कमेन्ट लेख्नुहोस्