अस्पतालमा यसरी लुकाइन्छ आइसीयू र भेण्टिलेटर बेड,निजी अस्पतालको ठगी धन्दा

काठमाडौं । नेपालमा कोरोना संक्रमणसँगै मृत्युदर पछिल्लो समय तिब्र बनेको छ । बुधबार मात्रै पनि कोरोना भाइरसका कारण अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भयो भने ८ हजार ६ सय ५९ जनामा भाइरस संक्रमण पुष्टि भयो । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार ८ सय ३५ जना संक्रमित थपिए । थप एक हप्ता निषेधाज्ञा बढाएका काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले भीडभाड नियन्त्रणसहितको कडीकडाई गरेर महामारीको चेन ब्रेकमा लाग्ने दाबी गरिरहँदा संक्रमणको दर भने दिनहुँ तिब्र बनिरहेको छ । कोरोना परिक्षणको दायरा केही बढाउँदा संक्रमण दरले तिब्रता पाइरहेको छ ।
बुधबार २० हजार ७ सय ५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या नै ६६ हजार ३ सय ५२ पुग्दा एकैदिन १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि नागरिकलाई स्थिति नियन्त्रण बाहिर जानसक्ने भन्दै सचेत र साबधान बन्न बारम्बार आह्वान गरिरहेको छ । देशभर पहिचान भएका सक्रिय संक्रमित मध्ये ६१ हजार ५ सय ८८ जना होम आइसोलेसन अर्थात घरमै रहँदा ४ हजार ७ सय ६४ जना मात्रै देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।
संक्रमण पहिचान भएका मध्ये निक्कै थोरै अस्पताल पुग्दा नै उपचारसेवा प्रभावित भएको त्रासदी फैल्याइदैछ । कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै देशका ५२ बढी जिल्लामा यतिबेला निषेधाज्ञा गरिएको छ । काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञाको पूर्ण रुपमा पालना नै भएको देखिदैन । निषेधाज्ञा गरिएका जिल्लामा संक्रमण झनै भयावह बन्दै गएको छ । सडकमा पास लिएका ब्यक्तीहरुको भिडभाड पनि उत्तिकै देखिन्छ । ठाउँ–ठाउँमा प्रहरीको चेकिङ प्वाइन्ट बनाइएपनि सोही स्थानमा लामो जाम लाग्ने गरेको छ । बिहान खोलिएका तरकारी बजार तथा खाद्यान्न पसलमा पनि उत्तिकै भिड लाग्ने गरेको छ । त्यहाँ स्वास्थ्यका कुनै पनि मापदण्ड प्रयोग गरिएको देखिदैन । निषेधाज्ञा गरेर घरभित्रै मानिसहरु बसेपनि घर–घरमा संक्रमित थपिदै गएका छन् । तर निषेधाज्ञा जारी गर्ने अधिकारीहरु भने कोरोनाको चेन ब्रेक गर्नेगरि कडाई गरिएको र गर्ने योजनामा रहेको दाबी गरिरहेका छन् ।
सरकारी तथा निजी अस्पतालमा बेड नै छैन् भन्दै संक्रमित गेटबाटै फर्किन बाध्य छन् । तर, सरकारी तथ्याङकले भने अस्पतालमा पर्याप्त आइसियू र भेन्टिलेटर मात्रै होइन सामान्य बेड समेत रहेको तथ्याङकले देखाइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न कोभिड अस्पतालमा अहिलेसम्म १ हजार १२० जना संक्रमित भर्ना भएका छन् । यी मध्येपनि आइसीयूमा उपचाररत १९० र भेन्टिलेटरमा ६३ जना मात्रै छन् ।
सरकारले कोरोना उपचारका लागि छुट्याएका उपत्यकाका अस्पतालका बेड, आइसीयू र भेन्टिलेटर लुकाइएको प्रष्ट देखिन्छ । यति मात्रै होइ सरकारले देशभर कोरोना संक्रमितको उपचारका लागि भन्दै छुट्याइएका आइसीयू बेडको संख्या १४ सय २३ रहेको छ, तर देशभरका कोभिड अस्पतामा ६०० जना मात्रै आइसीयुमा भर्ना भएको सरकारी रेकर्ड छ । अर्कोतिर ५ सय ८३ भेन्टिलेटर मध्ये १ सय ५६ मा मात्रै संक्रमितको उपचार भैरहेको छ । बिशेषगरी तिब्र संक्रमण देखिएका बागमती प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालले बेड लुकाएको आशंक बढाउनेगरि सरकारले नै सार्वजनिक गरेको यो तथ्यांक पनि हेर्नुहोस् ।
बेड हुँदा पनि आखिर अस्पतालहरु किन कोरोनाका बिरामी भर्ना लिदैनन् । मन्त्री तथा नेताहरुको भनसुनका भरमा बेड दिदै गर्दा सामान्य नागरिकले भने सामान्य बेड समेत नपाउने अवस्था देखिएको छ । निजी अस्पतालले त कोरोनाको निउँमा कमाउ धन्दा मच्चाइरहेका छन् । महामारीबाट जनतालाई जतिसक्दो चाँडो मुक्त गराउनु सबैको दायित्व हो । तर, कतिपय निजी स्वास्थ्य संस्था भने दायित्वबोधबाट पन्छिँदै असंवेदनशील भएर महामारीलाई ‘कमाउने अवसरका’ का रूपमा लिइरहेका छन् ।
काठमाडौं मेडिकल कलेजले कोरोना बिरामीका लागि सार्वजनिक गरेको दैनिक उपचार शुल्क र ह्याम्स अस्पतालले बिरामीका आफन्तसँग गरेको मञ्जुरीनामाले ठगी प्रस्ट देखाएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले कोरोना संक्रमितको उपचारका लागि एउटा बेडको दैनिक ३० हजार शुल्क तोकिएको सूचना निकालेको छ । वैशाख १९ गते जारी गरेको सूचनामा कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्सको प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार तोकिएको छ ।
यस्तै ह्याम्स अस्पतालले कोरोना बिरामीका आफन्तसँग चर्को शुल्कमा मञ्जुरीनामा गराउने गरेको पाइएको छ । अस्पतालले आइसोलेसन सुइट रुम भन्दै एउटा बेडको उपचार शुल्कबाहेक दैनिक ५० हजार रुपैयाँ लिएको छ । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन जनरल वार्डको ७ हजार, दुई बेड सेयर गरेर बस्दा १५ हजार, तीन बेड सेयर बस्दा ११ हजार, आइसोलेसन प्राइभेट रुमको २१ हजार, आईसीयू बेडको २२ हजार, आइसोलेसन डिलक्स रुमको २६ हजार र आइसोलेसन सुइट रुमको ५० हजार रुपैयाँ लिँदै आएको छ । यसबाहेक अन्य थप खर्च पनि बिरामीले बेहोर्नुपर्ने मञ्जुरीनामामा उल्लेख गरिएको छ ।
यसरी नीजि अस्पतालले महामारिको मौका छोपेर बिरामी लुटिरहँदा सरकारी अधिकारीहरु भने बारम्बार गम्भिर कारबाहीको धम्कीपूर्ण सूचना सार्वजनिक गर्ने बाहेक केही गर्न अग्रसर देखिएका छैनन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीजि अस्पतालले महंगो शूल्क लिएको प्रति चेतावनीपूर्ण भाषामा खबरदारी गर्दै जारी गरेको यो सूचना पनि एकपटक हेर्नुहोस् ।
कोरोना संक्रमणका कारण ज्यान कसरी बचाउने भन्ने चिन्तामा रहेका नागरिकलाई झनै त्रसित बनाउने अस्पताललाई सरकारले किन कारवाही गर्न सक्दैन ? अनि संक्रमण रोकथामसँगै नागरिकलाई सहज उपचार दिलाउन कहिले राज्य गम्भिर बन्ने ? अर्कोतर्फ निषेधाज्ञाका कारण घरमा थन्किएका नागरिकमा रोगसँगै भोकको समेत चिन्ता बढ्न थालेको छ, यतातर्फ सरकार गम्भिर र संबेदनशिल कहिले बन्ने ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #संक्रमण पहिचान, #संक्रमित थपिए
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्